Logo

अन्तरराष्ट्रिय र्याफ्टिङ प्रतियोगिता गर्दै नारा, ३ सय प्रतियोगीले सहभागि जनाउने

अन्तरराष्ट्रिय र्याफ्टिङ प्रतियोगिता गर्दै नारा, ३ सय प्रतियोगीले सहभागि जनाउने



काठमाडौं । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले १७ औं अन्तरराष्ट्रिय हिमालयन ह्वाईटवाटर च्यालेन्ज २०१८ प्रतियोगिता गर्ने भएको छ ।

लमजुङको सदरमुकाम भन्दा ३ किलोमिटर माथी बेलौती विसौनीबाट मस्र्याङदी नदिमा संचालन हुने उक्त प्रतियोगिता ३ दिन सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।

सहासिक जलयात्रा पर्यटनको संभावनालाई उपयोग गर्न सके आय तथा रोजगारीमा बृद्धि हुने भन्दै सो प्रतियोगिता गर्न लागेको नाराका महासचिब शिव अधिकारीले जानकारी दिएका छन ।

नेपालमा सहासिक जलयात्रा पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले १७ औं अन्तरराष्ट्रिय हिमालयन ह्वाईटवाटर च्यालेन्ज २०१८ नाम दिएर सो प्रतियोगिता गर्न लागेको हो ।

नेपालको पर्यटन उद्योगका सबै विधा, गन्तब्य र उत्पादनका बारेमा प्रचार प्रसार गरी पर्यटन आगमनमा बृद्धि गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने र भिजन २०२० लाई सफल बनाउन समेत यस प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने आयोजकको दावी रहेको छ ।

यही शनिबार देखि शुरु हुने सो प्रतियोगितामा देशी तथा विदेशी खेलाडी सहित करिब ३ सय जनाले भाग लिने छन भने अन्य १ सय जनाले उक्त सहासिक खेलको मजा लिन सक्ने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा २ समुह (महिला र पुरुष) रहने छन भने दुबै समुहका प्रथम हुने खेलाडीलाई नगद ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद तथा जल यात्रामा प्रयोग हुने सामग्री वितरण गर्ने छ ।

हाल रिभर गाईडको रुपमा नेपालमा करिब ५ सय को हाराहारीमा काम गरिरहेका छन भने करिब १ हजार जना नेपाली रिभर गाईड अमेरिका, चीन, जापान, टर्कि तथा दुबईमा काम गरी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्