Logo

लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल, मापदण्ड अनुसार नहुँदा विमानले पुरा यात्रु बोक्न पाएन

लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल, मापदण्ड अनुसार नहुँदा विमानले पुरा यात्रु बोक्न पाएन


रासस
27
Shares

काठमाडौं । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुर विमानस्थल रहेको छ ।

जहाज अवतरण गर्दा धावनमार्र सोझै झर्नुपर्ने बाध्यता र उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले पाइलटहरुले भरतपुर विमानस्थलाई उच्च जोखिमको भएको प्रमुख गौतमले जानकारी दिएका छन ।

६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग १ हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ । उडान र अवतरण अप्ठ्यारो हुने भएपछि बुद्धको ४७ सिटको एटिआर ४२ ले ४० जना हाराहारी यात्रु मात्रै उडाउँछ भने यतीले ३० र जेट स्टिमले २० यात्रु मात्रै बोक्ने गर्दछ ।
बुद्ध एयरलाइन्सका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले जुन मापदण्ड हुनुपर्ने हो त्यसो नहुँदा सिटअनुसारको यात्रु बोक्न नसकिएको बताएका छन ।

उनले दक्षिणपूर्व र उत्तर पश्चिम क्षेत्रका अवरोध घटाएर धावनमार्ग बढाउन सके ठूला जहाज अवतरण गर्न सकिने बताए । अहिले भरतपुर काठमाडौं जहाज भाडा ३ हजार ७ सय ५० रुपैयाँ छ । ठूला जहाज चलेमा ३ हजार रुपैयाँ भन्दा कममा उडाउन सकिने उनले जानकारी दिए ।

यती एयरलाइन्स भरतपुरका निमित्त प्रबन्धक अनुप ढकालले जहाजको अवतरण र उडान क्षेत्रमा अवरोध भएका कारण तापक्रम हेरेर यात्रु राख्नुपरेको बताउँछन । ३० जना क्षमताको जेट स्टिममा २० हाराहारी यात्रु पठाउनुपर्ने बाध्यता रहेको उनकोे भनाइ थियो ।

भरतपुर काठमाडौं दैनिक १० जहाज उड्ने गर्दछन । भरतपुरबाट पोखरा दैनिक एउटा उडान हुने गरेको छ । बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्दै आएका छन । नारायणगढ मुग्लिन सडकमा समस्या हुँदा भरतपुर विमानस्थलमा यात्रुको चाप उच्च भएको थियो ।

सो समयमा दैनिक १८ वटासम्म विमानले उडान भरेका थिए । प्रदेश नं ३ को राजधानी एवं छिमेकी जिल्ला मकवानपुर र नवलपुरमा समेत विमानस्थल नभएकाले ती जिल्लाबाट काठमाडौं आवतजावत गर्ने यात्रु पनि यही विमानस्थल प्रयोग गर्ने गर्छन ।

प्रमुख गौतमले भरतपुर विमानस्थल उच्च जोखिममा रहेको भन्दै भरतपुर महानगरपालिकालाई पत्राचार गरी सोको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौं र जिल्ला प्रशासन कार्यालयलाई दिइएको भए पनि सुनुवाइ नभएको बताउँछन ।

प्रतिक्रिया दिनुहोस्