काठमाडौं । सरकारले पर्यटन शुल्क बढाएको भन्दै पर्यटन ब्यवसायीहरुले चौतर्फि विरोध गरेका छन ।
ब्यवसायीहरुको विरोध पछि ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले बिहीबार पर्यटन सँग सम्वद्ध निकायहरुसँग छलफल गरेको छ ।
छलफल पछि टानका महासचिब आङपेम्बा शेर्पाको संयोजकत्वमा एक समिति बनाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेसनमा जाने टानका अध्यक्ष नबराज दाहालले जानकारी दिएका हुन । पछिल्लो समयमा ब्यवसायीलाई विना जानकारी प्रवेश शुल्क बृद्धि गरेको भन्दै टानले विरोधगर्दै आएको छ ।
दाहालले सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाले स्थानीय होटल समिति बनाई अनावश्यक रुपमा रकम अशुल्दै आएको र मनास्लु क्षेत्रमा नेपाली पर्यटकलाई प्रवेश शुल्क भन्दै ४ सय रुपैयाँ उठाएको प्रति ब्यवसायीहरुको ध्यानाकर्षण भएको समेत जानकारी दिएका छन ।
त्यस्तै दाहालले अन्नपूर्ण, मनास्लु, गौरीशंकर लगायतका संरक्षण क्षेत्रहरुमा अनुमति दस्तुर वृद्धि गराएको भन्दै तत्काल खारेज गर्न सरकार सँग माग गरेको छ । हाल सम्म सुनाउने काम मात्रै भयो अव सुनुवाई कार्यान्वयन गर्ने तर्फ सरकारलाई घचघच्याउँछौं दाहालले भने ।
छलफलमा सहभागिहरुले विना सुचना प्रवेश शुल्क बढाउँदा ब्यवसायीहरु मर्कामा परेको गुनासो गरेका छन । पुरानै रेटमा प्याकेज बनाएको हुन्छ तर सरकारले एक्कासी प्रवेश शुल्क बढाए पछि हामीले खल्तीबाट पैसा निकाल्दै बुझाउँदै जानु पर्ने भए पछि सरकारको भिजन २०२० कसरी सफल होला ब्यवसायीहरुले गुनासो पोखेका छन ।
सरकारले ति क्षेत्रमा जाने नेपाली पर्यटकलाई निशुल्क प्रवेश दिँदै आएकामा हालै वृद्धि गरेको शुल्क अनुसार सय रुपैयाँ बुझाउनु पर्ने भएको छ । त्यस्तै दक्षिण एशियाली सहयोग संगठन (सार्क) मुलुकका पर्यटकलाई २ सय बाट वृद्धि गराई १ हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकको लागि २ हजार २ सय ६० रुपैयाँबाट बढाएर ३ हजार पुर्याएको छ ।