Logo

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क बढ्यो, जंगल सफारीको शुल्कमा पनि वृद्धि

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क बढ्यो, जंगल सफारीको शुल्कमा पनि वृद्धि



काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने नेपाली पर्यटकले १ सय ५० रुपैयाँ तिर्नु पर्ने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाए पछि १ सय १३ रुपैयाँ तिर्दै आएको नेपाली पर्यटकले अव १ सय ५० रुपैयाँ तिर्नु पर्ने भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १ सय ५० रुपैयाँ, सार्क देशकाले १ हजार र विदेशीले २ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले १ सय १३, सार्कले ८ सय ४७ रुपैयाँ ५० पैसा र विदेशीले १ हजार ६ सय ९५ रुपैयाँ तिर्दै आएका थिए । त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले ३ हजार र जिपले ५ हजार रुपैयाँ तिर्नुपर्ने छ । यसअघि जङ्गल यात्रामा सबै सवारीले ४ हजार ५ सय २० रुपैयाँ तिर्दै आएका छन ।

यसैगरी हात्ती यात्रामा व्यक्तिको मात्रै नेपालीलाई ५ सय, सार्कलाई १ हजार ५ सय र विदेशीलाई २ हजार ५ सय कर निर्धारण भएको ढकालले बताए । यसअघि हात्ती यात्रामा बच्चाका लागि ५० प्रतिशत छुट भए पनि अहिले छुट दिइएको छैन ।

हात्ती चढ्दा पर्यटकले निकुञ्ज प्रवेश शुल्क र हात्ती शुल्क तिर्नुपर्ने हुन्छ । हाल हात्तीमा घुम्ने नेपालीले १ हजार १ सय, सार्क मुलुककाले १ हजार ६ सय र विदेशी पर्यटकले २ हजार १ सय रुपैयाँ हात्तीका लागि तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी जिप सफारीका लागि पर्यटकले प्रवेश शुल्कबाहेक जिपका लागि १ हजार २ सय ५० व्यवसायीलाई बुझाउनुपर्नेछ । सरकारले राजपत्रमा नयाँ शुल्क प्रकाशन गरेसँगै असोज २९ गतेबाट लागू गरिएको ढकालले जानकारी दिएका छन ।

होटल व्यवसायीले शुल्क वृद्धिको पूर्व जानकारी नहुँदा मर्कामा परेको जानकारी दिएका छन । ढकालले भने पूर्व जानकारी भएमा घटाउन लबिङ हुने हुँदा एकै पटक शुल्क सार्वजनिक गर्ने गरिएको बताएका हुन ।

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत १६ करोड ७८ लाख ५४ हजार ६ सय ५० रुपैयाँ र सवारी शुल्कवापत ३ करोड २५ लाख ६० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । निकुञ्जले कूल राजश्व २४ करोड ८१ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ सङ्कलन गरेको थियो । गत वर्ष १ लाख ५२ हजार ६ सय ७१ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL