Logo

एओसीका लागि बीबी एयरवेजले दियो आवेदन, ७ देशमा उडान भर्न स्वीकृति, त्रिभुवन विमानस्थलबाट उडान गर्न नपाउने

एओसीका लागि बीबी एयरवेजले दियो आवेदन, ७ देशमा उडान भर्न स्वीकृति, त्रिभुवन विमानस्थलबाट उडान गर्न नपाउने



काठमाडौं । बीबी एयरवेजले अन्तरराष्ट्रिय उडान अनुमति (एओसी) को लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप निर्देशक राजेन्द्र पोखरेलका अनुसार बीबी एयरवेजले आवेदन दिएको अबको एक महिना भित्रमा एओसी प्राप्त गर्न सक्ने जानकारी दिएका छन ।

सन २०१२ मा कम्बोडियाको टोन्ले साप एयरलाइन्सबाट एउटा बोइङ–७५७ भाडामा ल्याएर केही समय काठमाडौं–मलेसिया उडान गरेको एयरवेज पुनः ३ महिना पछि बन्द भएको थियो । सुरुको ३ महिना मलेसियाको क्वालालम्पुर उडान गरेको एयरवेजले उडान अनुमति नविकरण नगरे पछि प्राधिकरणले उडान अनुमति रद्द गरेको थियो ।

तर २०७५ साउन १ गतेको मन्त्रालयको निर्णय अनुसार उक्त एयरवेजलाई अन्तरराष्ट्रिय उडानको लागि स्वीकृति दिएको हो । पछिल्लो समयमा भने अन्तरराष्ट्रिय उडानको लागि एयरवेजले भारतको दिल्ली, बैंकक, क्वालालम्पूर, हङकङ, टोकियो, दोहा तथा सिंगापुरको लागि उडान भर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाएको छ ।

कम्पनीले व्यवसायिक योजनामा जहाज खरिद गरेर उडान गर्ने योजना प्रस्तुत गरेकै कारण कम्पनीलाई मन्त्रिस्तरबाट लाइसेन्स नविकरणको निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।

एयरवेजले सात वटा देशमा उडान भर्न मन्त्रालयबाट स्वीकृति पाए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भने उडान भर्न नपाउने भएको छ । प्राधिकरणका उपनिर्देशक राजेन्द्र पोखरेलका अनुसार गौतमबुद्ध विमानस्थल संचालनमा आईसके पछि मात्रै अन्तरराष्ट्रिय उडान भर्ने छ ।

बीबी एयरवेजसँग हाल नेपाल वायुसेवा निगमबाट खरिद गरेको बोइङ ७५७–२०० जहाज रहेको छ । कम्पनीले बोइङ बिक्री गरेर अरु ४ वटा न्यारोबडी जहाज खरीद गर्ने व्यवसायिक योजना रहेको र हाल किनबेचको प्रक्रृयामा रहेको बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत राज पहारीले जानकारी दिएका छन ।

अवको करिब ८ महिना भित्रमा बोइङ ७५७–२०० जहाजलाई बेच्ने र ४ वटा न्यारोबडी जहाज खरिद गरि भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानलाई नियमित संचालनमा ल्याउने पहारीले जानकारी दिएका छन ।

त्यस्तै नेपाल वायुसेवा निगमले पनि जापानको टोकियोमा उडान भर्न पाउने भएको छ । निगमको जहाजले टोकियोमा उडान भर्ने प्रकृया अन्तिम चरणमा पुगेको भन्दै अवको केही समयमै नियमित उडान हुन सक्ने पोखरेल जानकारी दिएका छन ।

हाल अन्तरराष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्स र बुद्ध एयर रहेका छन ।

प्रतिक्रिया दिनुहोस्