Logo

काठमाडौंको भिजिबिलिटी कम भएपछि लुक्ला जाने पर्यटक रामेछाप विमानस्थलमा, रामेछापबाट लुक्ला दैनिक १० उडान

काठमाडौंको भिजिबिलिटी कम भएपछि लुक्ला जाने पर्यटक रामेछाप विमानस्थलमा, रामेछापबाट लुक्ला दैनिक १० उडान



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाईचाप बढ्न थाले पछि आन्तरिक उडानको लागि रामेछाप विमानस्थल प्रयोग हुन थालेको छ ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार जाडो मौसममा काठमाडौंको भिजिबिलिटी कम हुने र पर्यटकहरु बढी आउने भएकाले आन्तरिक उडानका लागि रामेछाप विमानस्थल प्रयोग गरिएको हो ।

पछिल्लो समयमा एभरेष्ट जाने पर्यटकको संख्यामा बृद्धि र काठमाडौंको विमानस्थलमा हवाईचाप बढने भए पछि रामेछाप विमानस्थल प्रयोग गर्न कुरा भईरहेको समेत क्षेत्रीले जानकारी दिएका छन ।

आन्तरिक तथा वाह्य पर्यटकहरु सोलु र कतिपय सोलु हुँदै सगरमाथा आधार शिविरसम्म जानका लागि धेरै आउन थालेपछि निजी विमान कम्पनीहरुले सुरक्षित र छोटो मानिने मन्थली विमानस्थललाई प्रयोग गर्न थालेको समेत क्षेत्रीले जानकारी दिए ।

हवाइ ट्राफिक जामको झन्झटबाट मुक्ति र प्रायः चौविसै घण्टा मौसमले साथ दिने भएपछि लुक्लाको लागि उडान गर्ने निजी विमान कम्पनीको रोजाइमा रामेछाप विमानस्थल परेको छ । मन्थली विमानस्थलमा एकैसाथ ६ वटासम्म साना विमान अवतरण गरेर पार्क गर्न सकिने भएकाले पनि निजी विमान कम्पनीहरु लुक्ला उडानको लागि रामेछाप विमानस्थल रोजाईमा पर्ने क्षेत्री बताउँछन् ।

रामेछाप लुक्ला उडानको हालसम्म कुनै उडान तालिका नभए पनि दैनिक १० वटासम्म उडान भईरहेको लुक्ला विमानस्थलका विमानस्थल प्रमुख योगेन्द्र कुँवरले जानकारी दिएका छन ।

उनका अनुसार अक्टुबर देखि डिसेम्बरसम्म पर्यटकको पिक सिजन भएकाले लुक्ला विमानस्थलमा दैनिक ४५ देखि ५० वटा सम्म जहाजले उडान गर्ने र हेलिकप्टरहरु भने दैनिक ८० उडान हुने कुँवरले जानकारी दिएका छन । उनको अनुसार काठमाडौं र रामेछापबाट लुक्लाको लागि कुनै उडान तालिका नभएको र लुक्लाको उडान तालिका अनुसार काठमाडौं र रामेछाप उडान गरेको उनले बताए ।

काठमाडौंबाट आएको जहाज खराव मौसमका कारण लुक्लामा अवतरण गर्न नसकेको खण्डमा भने रामेछाप डाईभर्सन हुने भएकाले पनि रामेछाप विमानस्थलमा अहिले दैनिक उडान १० वटा सम्म भईरहेको कुँवरले बताए ।

तर काठमाडौं विमानस्थलका महाप्रवन्धक क्षेत्रीले भने उडान तालिका नभए पनि पर्यटकको सिजन अवधिभर उडान तालिका बनाएरै रामेछाप लुक्ला उडान गर्ने तयारी भईरहेको जानकारी दिएका छन ।

सिजनमा मात्रै नभएर अन्य समयमा समेत लुक्ला जाने पर्यटकको लागि रामेछाप विमानस्थल नै प्रयोगमा ल्याउने उनले जानकारी दिएका छन । नियमित उडान गर्न नसकेको रामेछाप विमानस्थलमा लुक्ला जाने पर्यटकलाई बेलुकानै रामेछाप पुर्याउने र विहानै लुक्लाको लागि उडाउने तयारी गर्दै छौं क्षेत्रीले भने ।

रामेछापबाट लुक्ला नियमित उडान गर्न सकेको खण्डमा रामेछाप विमानस्थलको राजस्व बढनुका साथै होटलहरु समेत भरिभराउ हुने क्षेत्रीको भनाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL