Logo

१७ महिना पछि पुनः हवाई उडान शुरु, चौरजहारी काठमाडौं भाडा दर ८ हजार रुपैयाँ

१७ महिना पछि पुनः हवाई उडान शुरु, चौरजहारी काठमाडौं भाडा दर ८ हजार रुपैयाँ



काठमाडौं । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । करिब १७ महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान शुरु गरेको हो ।

हप्ताको २ दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताएका छन । उनका अनुसार बुधबार काठमाडौं–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान हुने बताइएको छ ।

उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट १ जना बिरामी सहित ८ जनाले नेपालगञ्जसम्मको हवाईयात्रा गरेका छन । झण्डै डेढ वर्षपछि यहाँको हवाईसेवा सञ्चालनमा आउँदा सर्वसाधारणमा खुशी छाएको छ । हवाई सेवाले रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई छिटो यात्राका लागि सहज गराएको छ ।

आजदेखि निगमको जहाजले पुनः उडान शुरु गरेसँगै यहाँको नयाँ भाडादर समेत कायम गरिएको छ । अबदेखि चौरजहारीबाट काठमाडौंका लागि ८ हजार रुपैयाँ र नेपालगञ्जलाई ३ हजार रुपैयाँ भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले बताए ।

यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट यहाँको उडान बन्द गरिएको थियो । बन्द हवाईसेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए ।

विसं २०२८ बाट सञ्चालनमा आएको उक्त विमानस्थलको थप स्तरोन्नतिका लागि ५ वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL