Logo

फेक रेस्क्युको असर : बुकिङ रद्ध गर्दै पर्यटक

फेक रेस्क्युको असर : बुकिङ रद्ध गर्दै पर्यटक



काठमाडौं । नेपालमा फेक रेस्क्युको विषयमा धेरै हल्ला आएपछि त्यसको असर नेपाल भित्रने विदेशी पर्यटकमा पर्न गएको छ । नेपाल ट्राभल एण्ड टूर्स कम्पनीहरुले पर्यटकलाई हिमाल आरोहणक्रममा विरामी बनाएर ‘फेक रेस्क्यु’ गर्ने क्रम बढेको भन्दै नेपाल भित्र पर्यटकको संख्यामा कमि आएको एक पर्यटन व्यवसायीले बताए । ‘अन्तरारष्ट्रिय स्तरमा फेक रेस्क्युको हल्ला बढेसँगै नेपाल आउन अग्रीम बुकिङ गरेका पर्यटकहरुले पनि आफ्नो बुकिङ रद्द गर्ने क्रम बढेको छ,’ ती पर्यटन व्यवसायीले भने, ‘फेक रेस्क्युका कारण अनावश्यक खर्च गराई बढी रकम असुल्ने क्रम बढेपछि धेरैजसो पर्यटकले बुकिङ रद्द गराएका छन् ।’

पर्यटकलाई बिरामी बनाएर अबैध रुपमा पर्यटकलाई ठगी गरेको भन्दै केही ब्यवसायीलाई सरकारले कार्वाही अगाडी बढाए पनि विदेशबाट आउने पर्यटकले नेपाल आउन छाडेको ट्रेकिङ ब्यवसायीहरुको गुनासो रहेको छ । विदेशबाट आउने पर्यटकले विगतमा ५० डलरमा आफ्नो बीमा गराउँदै नेपाल आउने गरेकोमा फर्जी उद्दारले गर्दा नेपाल आउन चाहाने पर्यटकले २ सय देखी २५० डलरसम्म बीमा गराएर मात्र नेपाल आउने गरेको ब्यवसायीहरु बताउँछन । फेक रेस्क्युका कारण नेपाल आउन बीमा शुल्क नै बढी बुझाउनु पर्ने भएकाले नेपाल आउने पर्यटक अन्य मुलुकमा डाईभर्ट हुने गरेको ती व्यवसायीको गुनासो थियो ।

पछिल्लो समय फेक रेस्क्युका कारण नेपाल आउने पर्यटकलाई बीमालगायतका झण्झट बढी थपिएको होटल एशोसिएशन अफ नेपाल (हान)का महासचिव विनायक शाहले बताए । ‘यस अघि सहज रुपमा ५० डलरमा बीमा गराएर पर्यटकहरु नेपाल आउथे,’ उनले भने, ‘अहिले नेपाल घुम्ज जाने भन्ने वित्तिकै सम्बन्धित देशको बीमा कम्पनीले त्यस्ता पर्यटकलाई बढी सोधपुछ गर्ने तथा बीमा शुल्क पनि ५ गुणा बढाएर लिने गरेका छन् ।’ नेपाल भित्र्ने पर्यटक घट्नु धेरै कारण रहेको र त्यसमध्ये फेक रेस्कयु पनि एक हुनसक्ने उनको तर्क थियो ।

पर्यटन व्यवसायीले फेक रेस्क्युका कारण नेपाल भित्र्ने पर्यटकको संख्यामा कमि आएको बताए पनि पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशी भने अहिले नै सोही कारण विदेशी पर्यटकको संख्यामा कमि आएको थाहा नहुने बताउँछन । ‘फर्जी उद्दार भएको धेरै भएको छैन भर्खरै हो त्यसले कस्तो असर गर्छ अक्टुबर अन्त्यमा मात्र थाहा हुन्छ,’ उनले भने, ‘भरर्खर पर्यटकको सिजन सुरु हुन लागेको छ अहिले नै केही भन्न सकिन्न ।’

फर्जी उद्दारले गर्दा यो सिजनमा आउन चाहने पर्यटकले बुकिङ गरेको होटलको कोठा समेत रद्द गर्न थालेको सौराहका एक होटल व्यवसायीले जानकारी दिए । ‘सौराहमा यति वेला पर्यटको भिडभाड भएर कोठा पाउन सकेत कठिन हुन्थ्यो,’ ती होटल व्यवसायीले भने, ‘अहिले सबैतिर सुनसान छ ।’

पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपाल भित्र्ने पर्यटकको संख्यामा खासै सुधार आएको छैन । यो वर्षको जनवरी देखी अगष्ट सम्ममा जम्मा ६ लाख ८० हजार ९ सय ७८ जना मात्र विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन भने गत वर्षको सोही अवधिमा ५ लाख ७६ हजार ३ सय २२ जनाले नेपाल भ्रमण गरेको बोर्डको तथ्याङकमा उल्लेख छ ।

तथ्याङक अनुसार गत वर्षको भन्दा यो वर्ष नेपाल भित्रने पर्यटकको संख्या करिब १ लाख ४ हजार ६ सय ५६ जनाले मात्रै बढी देखिन्छ । सोही अवधिमा २०१६ मा भने ७ लाख ८९ हजार ५ सय ६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

कुन मुलुकबाट कति पर्यटक नेपाल भित्रिए

गत वर्षको तुलनामा यस वर्ष नेपाल भित्रिने पर्यटकको संख्या करिब पछिल्लो ८ महिनामा सबै भन्दा बढी पर्यटक भने सार्क मुलुकबाट भित्रिएको छ ।

र्साक मुलुकबाट मात्रै जनवरी देखी अगष्ट सम्ममा १ लाख ९२ हजार ३ सय ५१ जना पर्यटक भित्रिएको छ भने गत वर्षको सोही अवधिमा १ लाख ६२ हजार ३ सय ४६ जना पर्यटक भित्रिएको पर्यटनबोर्डको तथ्याङकमा उल्लेख छ ।

चीन, जापान, मलेसिया लगायतका देशबाट भने १ लाख ८३ हजार ५ सय १० जना भित्रिएको थियो भने गत वर्षको सोही अवधिमा एशियाका देशबाट १ लाख ४४ हजार ७ सय ६८ जना भित्रिएको छ । त्यस्तै युरोपियन मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या भने १ लाख ३२ हजार ११ जना रहेको छ गत वर्षको सोही अवधिमा १ लाख १३ हजार २ सय १५ जना पर्यटक भित्रिएको थियो ।

अष्ट्रेलिया र न्युजल्याण्डबाट भित्रिने पर्यटकको संख्या भने २२ हजार २ सय १९ रहेको छ भने गत वर्षको सोही अवधिमा १९ हजार ४ सय ७ जना पर्यटक भित्रिएको थियो ।

क्यानाडा र अमेरिकाबाट ६५ हजार ४ सय ४४ जना भित्रिएको छ भने गतवर्षको सोही अवधिमा ५६ हजार ७ सय ३७ जना भित्रिएको तथ्याङकमा उल्लेख छ । तथ्याङक अनुसार अन्य मुलुकबाट भने ८५ हजार ४ सय ४३ जना भित्रिएको छ भने गत वर्षको सोही अवधिमा ७६ हजार ४ सय ५४ जना भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्