Logo

तनहुँमा खुल्यो मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, यस्ता छन विशेषता

तनहुँमा खुल्यो मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, यस्ता छन विशेषता



काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा ८ करोड रुपैयाँको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याएको छ ।

पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट संचालनमा ल्याएको हो ।

स्वीमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । पहिलो चरणमा रिसोर्टमा १० कोठा निर्माण गरिएको र यसलाई विस्तार गर्दै ४० कोठासम्म पुर्याउने भट्टराईले जानकारी दिएका छन ।

दोस्रो चरणमा अर्को वर्ष १० कोठा र बाँकी तेस्रो चरणमा निर्माण गरिने र सो अवधिसम्म संरचना निर्माण सकिँदा करिब ९ करोड रुपैयाँसम्म लगानी पुग्ने अनुमान गरिएको व्यवसायी भट्टराईले बताए ।

‘पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले गुणस्तरीय खानासमेत रिसोर्टमा पाउनेछन’, उनले भने । ‘तारे होटलमा पाइने खानाको गुणस्तर यहाँ पनि पाइन्छ ।’ रिसोर्टमा स्वीमिङ पुलको व्यवस्था समेत छ । ‘गर्मीयाममा पौडी खेल्नका लागि पोखरा जानुपर्ने बाध्यता थियो’, व्यवसायी भट्टराईले भने, अब दमौली, डुम्रे र आँबुखैरेनीका सर्वसाधारणले नजिकै स्वीमिङ पुलको मज्जासमेत लिन पाउनेछन ।

तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्यसमेत रहेका उनले यस क्षेत्रमा सम्मेलन गर्ने भवनको अभाव देखेर रिसोर्टमै २ सय जना क्षमताको सभाकक्ष र ३० जना अट्ने क्षमताको बैठक कक्ष निर्माण गरेका हुन । रिसोर्टमा स्थानीय २० र काठमाडौँका दुई गरी २२ जनाले रोजगारी पाएको ब्यवसायी भट्टराईले बताए ।

रिसोर्टमा बालबालिकालाई खेल्नका लागि बाल उद्यानसमेत बनाइएको छ । रिसोर्टका व्यवस्थापक अमर न्यौपानेले राजमार्गमा यात्रा गर्ने पर्यटक तनहुँ नबसी सिधैँ पोखरा या काठमाडौँ जाने गरेकाले उनीहरूलाई तनहुँमै आकर्षण गर्ने व्यवस्था रिसोर्टले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL