काठमाडौं । बुद्ध र श्री एयरलाईन्सले थप जहाज ल्याउने भएका छन् । नेपाली आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका यी दुई एयरलाईन्सले थप नयाँ जहाज भित्र्याउन लागेका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाएसँगै बुद्ध एयरले थप जहाज ल्याउन लागेको बुद्ध एयरका एक अधिकारीले बताए । बुद्ध एयरले ४ वटा जहाज ल्याउन पर्यटन मन्त्रालयबाट स्वीकृति पाई सकेको छ ।
गत जुलाईमा एटीआर ७२–५०० ९९ एन–एएमयु जहाज ल्याएको कम्पनीले अबको केही समयमै अर्को जहाज ल्याउन गृहकार्य भईरहेको एयरलाईन्सका विनिता थापाले बताईन ।
‘अहिले प्लानिङमै छौं कुनै निर्णय भएको छैन सम्भवत छिटै निर्णय गरेर खरिद प्रक्रियामा जानेछौं,’ उनले भनिन्, ‘अहिले थप जहाज ल्याउने विषयमा छलफलमात्र भएको हो तर कुन कम्पनीमार्फत कति सिटे जहाज कसरी ल्याउने भन्ने विषयमा टुङगो लागि सकेको छैन ।’
त्यस्तै श्री एयरलाईन्सले पनि जहाज खरिद प्रकृया अघि बढाएको श्री एयरलाईन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन । उनका अनुसार पर्यटन मन्त्रालयबाट जहाज ल्याउन अनुमति पाएको र अबका दिनमा ७८ सिट क्षमताको जहाज ल्याउने तयारी भैरहेको जानकारी दिए ।
श्री एयरलाईन्सले थप ४ वटा जहाज ल्याउनका लागि फ्लाईट सेफ्टी स्ट्याण्डर्ड विभागमा आवेदन दिएको थियो । तर, विभागले श्री एयरलाईन्सलाई ३ वटा जहाज ल्याउनको लागि अनुमति प्रदान गरेको थियो । अनुमति पाएसँगै क्यानाडाबाट जहाज ल्याउने प्रकृयामा लागेको प्रवक्ता मानन्धरले बताए ।
अहिले बुद्ध र श्रीएयरलाईन्सले ११–११ वटा जहाजमार्फत सेवा प्रदान गर्दै आईरहेका छन् । जहाज थपसँगै श्रीएयरलाईन्सको जहाज संख्या १४ पुग्नेछ भने बुद्ध एयरको १५ वटा जहाज पुग्नेछ ।