काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अबका दिनमा पर्यटनबाट आर्थिक क्रान्ति ल्याउनुपर्ने बताएका छन् ।उनले अबका दिनमा कृषिबाट मात्र नभई पर्यटनबाट समेत आर्थिक सम्बृद्धि हासिल गर्न आग्रह गरेका छन् ।
‘हामीले अबको १० वर्षमा २७ लाख पर्यटक भित्र्याउने गरी चुनाबी घोषणमै उल्लेख गरेकाले भिजन २०२७ नाम राखेर काम गरिहेका छौं,’ पर्यटन मन्त्रालयको पञ्च बर्षीय कार्यदिशा सार्वजनिक कार्यक्रममा उनले भने, ‘२०२७ मा ५० लाख पर्यटक भित्र्याउन चीनबाट ४० प्रतिशत, भारतबाट ३० प्रतिशत र अन्य मुलुकबाट ३० प्रतिशत पर्यटक भित्र्याइनेछ ।
भिजन २०२७ को लागि क्षत्रिय अन्तरराष्ट्रिय विमानस्थलहरुको काम तीब्र बनाउनुका साथै ती आयोजनाहरु समयमै सक्नुपर्ने उनको भनाइ थियो । अर्थ मन्त्री डा. खतिवडाले कम्तीमा पनि दैनिक १ सय उडान हुनु पर्ने बताएका छन ।
मन्त्री खतिवडाले ‘केरुङ–काठमाडौं रेल संचालन गर्न सकेमा बार्षिक १० देखि २० लाख पर्यटक रेलमार्ग बाटै ल्याउन सकिने बताए । ‘तर अहिलेनै त्यो सम्भव छैन,’ उनले भने, ‘सायद अबको ५÷७ वर्षमा त्यो पनि सम्भव होला ।’
मन्त्री डा. खतिवडाले पर्यटकलाई आकर्षित गर्न र पर्यटकको बसाई लम्ब्याउन आन्तरिक उडान, केबलकार, सडक, छोटोदुरीको रेल विस्तार गर्नु पर्नेमा जोड दिएका छन ।