Logo

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा मनाङमा होमस्टे, ४१ घरमा संचालन

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा मनाङमा होमस्टे, ४१ घरमा संचालन



काठमाडौं । पर्यटकीय जिल्ला मनाङमा अन्नपुर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे संचालनमा आएको छ ।

आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताएका छन ।

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बास अर्थात होमस्टेको अवधारणा ल्याईएको हो ।

मनाङ पर्यटन पदमार्गका रुपमा विश्व परिचित भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घरबास (होमस्टे) आवश्यक रहेको तिरुवाले बताए । आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप बढेकाले पर्यटकको चाप थेग्नका लागि होमस्टेले सहयोग पुर्याएको छ उनले भने ।

गाउँघरका मौलिक पुराना बस्तीमा रमाउने भएकाले तिनै मौलिकता बोकेका बस्तीमा होमस्टे सञ्चालनको अवधारणा ल्याएको हो । अवधारणा सँगै जिल्लामा अहिले २ वटा होमस्टे संचालनमा रहेको छ ।

नासों गाउँपालिका अन्तरर्गतका वडा, नं ४ का १५ घर र वडा नं ८ ताचै गाउँमा २६ घरमा होमस्टे सञ्चालनमा आएका छन । वडा नं ४ ओडार गाउँ यस जिल्लाको पहिलो घरबास (होमस्टे) भएको ठाउँ हो भने वडा नं ८ ताचै गाउँमा साउन २ गतेदेखि सञ्चालनमा आएको हो ।

गाउँको चिनारीको वृत्तचित्र र म्युजिक भिडियोबाट गाउँलाई प्रचारप्रसारमा ल्याउने उद्देश्यका साथ होमस्टे सञ्चालनमा आएको हो । पर्यटन प्रवद्र्धनबाट गाउँको उन्नतिका लागि होमस्टेको अवधारणासँगै पदमार्गले नासों गाउँपालिकाका ९ वटै वडा जोड्ने लक्ष्य रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताएका छन ।

उनका अनुसार ताल, धारापानी, खोत्रो, थोचे, तिल्चे, ताचै, हुँदै दानक्यु, बगरछाप, घ्यालनचोक, ओडार गाउँबाट धारापानी जोड्ने पदमार्गको योजना बनाई काम थालिएको छ । सरकारको अवधारणा अनुरुप पर्यटन प्रवद्र्धनका लागि योजना बनाई अगाडि बढेको र चामे गाउँपालिकामा पनि (होमस्टे) निर्माणका लागि योजना निर्माण गरेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि घरबास (होमस्टे) निर्माणमा लाग्दै मनाङको परम्परा र प्राचीन घरको प्रयोग र सदुपयोगमा लागेको घरबास समिति ताचैका अध्यक्ष याद घलेले बताएका छन ।

होमस्टेले मनाङको परम्परा, धर्म, संस्कृति मौलिकतालाई उजागर गर्दै पारिवारिक वातावरणमा पर्यटकलाई आनन्दित बनाउन सक्ने उनको भनाइ रहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले प्राकृतिक संरक्षण मात्रै नभई गाउँका मानिसको जीवनस्तर उकास्नका लागि आयआर्जनका काम पनि गर्दै आएको छ ।

होमस्टेका लागि कुक तालीम, लोकल जुस बनाउन लालीगुराँस, भूँइकाफल र च्याकी जुस निर्माण तालीम पनि दिइएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख तिरुवाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL