काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका सबै आन्तरिक विमानस्थललाई संचालनमा ल्याउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले हाल बन्द अबस्थामा रहेका सबै विमानस्थल संचालनमा ल्याउने बताएका हुन् ।
हाल मनाङ, सोलुखुम्बुको स्याङबोचे, महेन्द्रनगर, डोटी, साँफे, बैतडी, बझाङ, काङगेडाँडा लगायत २० वटा विमानस्थल बन्द रहेका छन् । ती विमानस्थलहरु एकबर्ष भित्रै संचालनमा ल्याईने समेत उनले प्रतिवद्धता जनाए ।
यसैगरी मन्त्री अधिकारीले हाल जिरी विमानस्थलको जग्गा एयरपोर्टको नभई पशु फर्ममै भएको बताएका छन् । साथै मन्त्री अधिकारीले उक्त जग्गा एयरपोर्टले भोगचलनमात्र गरेको बताएका छन् । तर मन्त्री अधिकारीले गत बैशाख १९ मा जिरी भ्रमणमा जाँदा जग्गा फार्मले लिएको भने पछि उक्त जग्गा फिर्ता गर्ने बाचा गरेका थिए ।
हाल आएर एयरपोर्टको नभई फार्मको नै भएको खुलेको हो । ‘मलाई पनि थाहा थिएन त्यो जग्गा फार्मको नै हो भन्ने पछि थाहा भयो,’ उनले भने, ‘अबको एक बर्ष भित्रमा नेपालमा भएको सबै बन्द एयरपोर्टहरु संचालनमा ल्याउने गरी काम गर्दै छु ।’
नापी हुने बेला तत्कालीन पशु विकास फार्म जिरीका प्रमुख र नापीमा सहभागीहरुले एयरपोर्टको जग्गा अनाधिकृत रुपमा पशुविकास फार्मको नाममा दर्ता गरिएको भन्ने जुन हल्ला छ त्यो हल्ला गलत भएको मन्त्री अधिकारीले बिजखबरलाई बताएका छन ।
साथै नापीभन्दा अघि पनि उक्त जग्गा फार्मको नै रहेको उनको भनाई थियो । ‘जिरीमा एयरपोर्ट संचालन गर्ने हो भने अझै पनि उक्त फार्मले जग्गा दिन्छु भनेको छ,’ उनले भने, ‘एयरपोर्ट संचालन जसरी भए पनि गर्छु ।’