Logo

थप हवाईमार्ग उपलब्ध गराउन नेपाल भारतबीच प्राविधिक तयारी, चीनसँग पनि प्रारम्भिक छलफल

थप हवाईमार्ग उपलब्ध गराउन नेपाल भारतबीच प्राविधिक तयारी, चीनसँग पनि प्रारम्भिक छलफल



काठमाडौं । नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा प्राविधिक तयारी थालेको छ ।

हवाई यातायातलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन विगत लामो समयदेखि प्रयास गर्दै आएको थियो । नेपाल प्रवेश गर्ने एउटा मात्र हवाईमार्गका कारण भोग्नुपरेको जटिलताले वायु सेवा प्रदायक कम्पनीहरुले थप व्ययभार समेत व्योहोर्नु परेको सन्दर्भमा यस सम्बन्धी प्राविधिक तयारी शुरु गरिएको हो ।

सिमराको आकाशबाट मात्रै अन्तर्राष्ट्रिय वायु सेवाका जहाज काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरेका छन । सरकारले लामो समयदेखि भारत सरकारसँग ‘ट्रान्स हिमालय टु’ र अन्य चार स्थानबाट नेपाल प्रवेश गर्ने र बाहिरिने मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको थियो ।

प्राविधिक कारण देखाउँदै नेपालले माग गरेको मार्ग दिन भारतले अस्वीकार गर्दै आएको सन्दर्भमा जुन महिनाको तेस्रो साता दुई देशका उच्च सरकारी अधिकारबीच छलफल हुने भएको छ ।

हवाईमार्गका विषयमा छलफल गर्न भारतको ‘एयरपोर्टस अथोरिटी अफ इन्डिया (एएआई) को प्राविधिक टोली नेपाल आउने भएको हो ।
भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण भइरहेको र सो विमानस्थल आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सन्दर्भमा थप हवाईमार्गमा सहमति हुनु जरुरी जस्तै भइसकेको छ ।

भारतले हवाईमार्ग नदिँदा सो विमानस्थलमा जहाज उडान तथा अवतरणका लागिसमेत समस्या पर्ने छ । यस्तै बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलमा समेत जहाज उडान तथा अवतरणका लागि भारतको आकाश प्रयोग गर्नुपर्ने बाध्यता छ ।

नेपाल सरकारको पटक पटकको आग्रहपछि भारतीय पक्ष थप हवाईमार्ग उपलब्ध गराउने विषयमा सहमत भएको हो । राजनीतिक एवं कूटनीतिक तहमा भएको सहमति अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय अधिकारीलाई पत्राचार गरेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताएका छन ।

हाल भारत हुँदै आएका विमान एउटा विन्दूबाट मात्र नेपाल प्रवेश गर्छन । भारत, हङकङ, बैंकक, ढाका, मलेसिया, सिंगापुरलगायतका देशबाट आउने जहाज सिमरा नजिकै रहेको रोमियो केन्द्र भएर प्रवेश गर्ने गरेका छन ।

नेपालबाट बाहिरिनका लागि भैरहवा, महेन्द्रनगर सिमरा, जनकपुर, विराटनगरको आकाश प्रयोग गर्नुपर्छ ।
चीनबाट नेपाल भित्रिने जहाज भने सगरमाथा केन्द्र हुँदै नेपाल प्रवेश गर्ने गरेका छन । नेपालले चीनसँग पनि नयाँ हवाईमार्ग लिने विषयमा प्रारम्भिक छलफल गरिरहेको छ ।

नेपाल–भारतबीच भएको सहमतिअनुसार सम्पर्क सञ्जाल विस्तारका लागि थप हवाईमार्गका बारेमा छलफल हुन लागेको हो । नेपाली टोलीले भारतीय प्राविधिक टोलीसँग छलफल गरेपछि हवाईमार्गको विषय सहमतिमा पुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले केही दिन पहिले एक सार्वजनिक कार्यक्रममा बताएको थियो ।

हवाईमार्गका बारेमा सहमति हुने भन्दै नेपालको निजी क्षेत्रको वायु सेवा प्रदायक बुद्ध एयरले नेपालगञ्ज–दिल्ली उडान गर्ने तयारी गरेको छ ।
आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थल र सन २०२१ भित्र पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि थप हवाईमार्गका बारेमा सहमति हुनु जरुरी छ ।

सरकारले हाल सञ्चालनमा रहेका विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलबाट भारतीय शहरमा उडान गर्ने लक्ष्यसमेत राखेको छ । सो लक्ष्य कार्यान्वयनका लागिसमेत थप हवाईमार्गको जरुरी छ ।

भारतीय पर्यटक भित्र्र्याउन सरल र छोटो मार्ग आवश्यक रहेकाले त्यसबाट नेपाल–भारत दुवै मुलुकले फाइदा लिने अधिकारीहरुको भनाइ छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्राधिकरणले यसबारेमा आवश्यक प्राविधिक तयारी गरिरहेको बताएका छन ।

भारतीय पक्षले समेत चासो देखाएको उल्लेख गर्दै नेपालको प्रयासले थप सार्थकता पाउने उनको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL