काठमाडौं । सरकारले गठन गरेको ६ सदस्यीय अध्ययन टोलीले बैकल्पिक विमान स्थलको रुपमा नागीडाँडालाई प्राथमिकतामा राखेको छ ।
टोलीले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाउँदै अन्य स्थान भन्दा नागीडाँडानै उपयुक्त भएको जानकारी गराएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिएका छन ।
टोलीको प्रतिवेदन अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब २४ दशमलब ६ किलोमिटरको दुरीमा रहेको बनेपाको नागीडाँडानै उत्तम विकल्प रहेको अध्ययन टोलीले पर्यटन मन्त्री अधिकारीलाई सुझाव दिएका हुन ।
उक्त अध्ययन टोलीका अनुसार उत्तर दक्षिण १२ सय मिटर लम्बाईको विमानस्थल बनाउन सकिने भएको छ ।
वातवरण, वायुमण्डल तथा सुरक्षाका हिसाबले पनि नागीडाँडा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जत्तिकै सुरक्षित रहेको पर्यटन मन्त्रीका प्रेस संयोजक धुब्र पोखरेलले बताएका छन ।
८ सय मिटरको रनवे बनाउन साढे ३ अर्ब तथा १२ सय मिटरको रनवे बनाउन साढे ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरे पनि प्रतिवेदनमा भने उल्लेख नगरिएको प्रेस संयोजक पोखरेलले बताएका छन ।
उक्त ठाउँमा १२ सय मिटरको रनवे बनाएको खण्डमा काठमाडौमा रहेको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई ट्राफिक ३० प्रतिशत कम हुने अध्ययन टोलीले जानकारी गराएका हुन ।
डिपिआर सकेको करिब १२ महिना पछि काम सुरु गरिने पर्यटन मन्त्रालयका प्रवत्ता उपाध्यायले बताएका छन । उपाध्यायका अनुसार करिब ४ देखी ५ बर्ष भित्र निर्माण सम्पन्न गर्न सक्ने टोलीको अध्ययनले देखाएको छ ।