Logo

नागीडाडामा विमानस्थल बनाउन मन्त्रीको अध्ययन, २० जहाज पार्किङ, ३ ठाउँबाट ल्याण्ड

नागीडाडामा विमानस्थल बनाउन मन्त्रीको अध्ययन, २० जहाज पार्किङ, ३ ठाउँबाट ल्याण्ड



काठमाडौं । सरकारले आन्तरिक उडानका लागि नागीडाडामा विमानस्थल बनाउने प्रक्रिया अघि बढाएको छ । सो स्थानमा विमानस्थल बनाउनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अध्ययन भ्रमण गरेका हुन् ।

नागीडाडामा सरकारको ७५ प्रतिशत जग्गा रहेको र २५ प्रतिशतमात्र मुआब्जा दिए पुग्ने मन्त्री अधिकारीले बताए । विमानस्थल निर्माणका लागि जनताको शतप्रतिशत साथ रहेको र स्थान पनि उपयुक्त भएकाले आन्तरिक उडानका लागि विमानस्थल बनाउन सहज हुने उनको तर्क थियो ।

त्रिभुवन विमानस्थलले विमान चाप थेग्न नसकेपछि सरकारले आन्तरिक उडानका लागि नागीडाडामा विमानस्थल बनाउन लागेको हो । सो ठाउँमा विमानस्थल बनेसँगै ३ स्थानबाट जहाज ल्याण्ड गर्न सकिनेछ । यसैगरी २० वटा जहाज पार्किङ गर्न सकिने मन्त्री अधिकारीले जानकारी दिए ।

सो स्थानको केही भाग अग्लो रहेका कारण १ हजार २ सय मिटरको रनवे बनाउनका लागि ५० मिटर डाडालाई खनेर सम्याउनुपर्ने छ । तर, ८ सय मिटर रनवेका लागि भने २० मिटर मात्र डाडा सम्याए पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL