काठमाडौं । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शनिबारदेखि अन्तरराष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरेको उक्त सम्मेलनमा ३८ देशको सहभागिता हुने भनिए पनि १६ देशको मात्र सहभागिता रहेको छ । अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तरराष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकास कोषको सचिवालयले जनाएको छ ।
गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी भएका छन । सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन ।
दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ ।
लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताएका छन ।