Logo

सुर्खेत–काठमाडौं उडान परीक्षण सम्पन्न, बैशाख १ देखि नियमित उडान भर्ने

सुर्खेत–काठमाडौं उडान परीक्षण सम्पन्न, बैशाख १ देखि नियमित उडान भर्ने



काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ ।

बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्ययन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिए ।

उनका अनुसार जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ ।

नागरिक उड्ययन कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत विद्या शाहले एनएआइएन कल साइनको जहाज बिहान ९ः४५ बजे धावन मार्गमा अवतरण गरेको र ११ः०० बजे यहाँबाट उडान भरेको बताए । उनका अनुसार सम्भवतः नव वर्ष २०७५ वैशाख १ गतेदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ नियमित उडान शुरु हुनेछ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई सेवा नजोडिएको भन्दै यसका लागि प्रदेश सरकारलाई यहाँका नागरिकले माग गर्दै आएका थिए । त्यही विषयलाई लिएर दुईसाताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको ध्यानाकर्षण गराउनाका साथै निजी कम्पनीसँग पनि पहल गरेका थिए । उनकै सहमतिमा हवाई उडान सेवा जोडिएको छ ।

परीक्षण सेवा गरिएको हवाईको सुर्खेत–काठमाडौँ भाडादर कति भन्ने अहिले कायम नगरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL