काठमाडौं । सार्क देशहरु नेपाल र बङ्गलादेश अब छिटै बस सेवाबाट जोडिनेछन् । बैशाखमा हुने परिक्षण सञ्चालन सफल भएमा यी दुई देशबीच यात्रुबाहक बसे सेवा सुरु हुने निश्चित भएको हो ।
यो सेवा पूर्ण सञ्चालनमा आएपछि बङ्गलादेश–भुटान–इण्डिया–नेपाल(बीबीआइएन) मोटर सम्झौता नयाँ चरणमा प्रवेश हुने अपेक्षा गरिएको छ ।
परिक्षण पछि व्यक्तिगत तथा व्यावसायिक सवारीहरु काठमाडौंदेखि ढाका पुग्न सक्नेछन् । यी सवारी नेपाल–भारतसिमाको पानी ट्याङ्की र काकरभिट्टा रुट हुँदै भारत–बङ्गलादेश सिमाको फुलबारी र बङ्गलाबन्धबाट बङ्गलादेश प्रवेश गर्नेछन् ।
बसको परिक्षण सेवाको नेपाल, बङ्गलादेश र भारत सरकारले अनुगमन गर्नेछन् । त्यसपछि मात्रै यसको औपचारीक उद्घाटनको टुङ्गो लाग्नेछ ।
परिक्षणका लागि बैशाख २४ मा ढाकाबाट काठमाडौंका लागि बस छुट्नेछ । उक्त बसमा बङ्गलादेशका तर्फबाट सडक यातायात विभाग, विदेश मन्त्रालय, गृह मन्त्रालय, राजस्व बोर्डका अधिकारी रहन्छन् ।
बङ्गलादेश र भारतले भने गत वर्षनै सम्भावित सबै रुटमा परिक्षण सुरु गरिसकेका छन् । नेपालले आन्तरिक राजनीतिक परिस्थितीका कारण त्यतिबेला तत्काल परिक्षण नगर्ने जनाएको थियो ।
बीबीआइएन अन्तर्गतका चार ओटै देशका यातायात मन्त्रीहरुले सन् २०१५ जुन १५ मा भुटानको थिम्पुमा आयोजित एक कार्यक्रममा मोटर भेहिकल सम्झौता गरेका थिए । भुटान आफैले भने संसदबाट यो सम्झौता पारित गराएको छैन ।
बङ्गलादेशका यात्रुले भारतमा ट्रान्जिट भिसा लिएर नेपालसम्म सडकमा यात्रा गर्न सक्नेछन् । नेपाली यात्रुका लागि भने भारतमा भिसा लिनुपर्ने बाध्यता हुने छैन । बङ्गलादेशका यात्रुले यो परिक्षण पूर्ण रुपमा सञ्चालनमा आएपछि दुई ओटा सिमामा सवारी परिवर्तन गर्नुपर्ने छैन ।