अनिल कुमार न्यौपाने
काठमाडौं । विदेशी पर्यटकका लागि चर्चित काठमाडौंको ठमेलमा होटल सञ्चालनमा पछिल्लो समय प्रतिस्पर्धा बढ्न थालेको छ । अर्बौं लगानीमा ठमेललाई केन्द्रमा राखेर होटल निर्माणको काम अहिले जारी छ ।
केहि समयअघि मात्रै चर्चित चेन होटल फेयरफिल्ड मेरियट ठमेल आसपासमै सञ्चालनमा आइसकेको छ । एमएस समुहको लगानी रहेको उक्त तीन तारे होटलमा अन्तरराष्ट्रिय वित्त निगमले पहिलोपटक नेपालका होटलमा ऋण पनि उपलब्ध गराएको थियो ।
ठमेल आसपासमै गैर आवासीय नेपाली सङ्घ(एनआरएन)का निवर्तमान अध्यक्ष शेष घलेको लगानी चेन होटल शेराटन निर्माणको क्रममा छ ।
यस्तैमा प्रसिद्ध अमेरिकी चेन होटल रमाडा इंकोर पनि ठमेलमै निर्माण हुदैछ । सन् २०१८ को अन्त्यदेखि सञ्चालनमा ल्याउन लागिएको यो होटल ठमेल प्लाजा होटल एण्ड सुइट्स ग्रुपले लगानी गरेको हो । विभिन्न व्यवसायीक समुह मिलेर स्थापना गरिएको ग्रुपले होटल रमाडामा एक अर्ब २० करोड लगानी रहने प्रबन्ध निर्देशक सागर पंगेनीले जानकारी दिए । उनका अनुसार चार तारेस्तरको यो होटलमा कुल ९० ओटा डिलक्स रुम रहनेछ ।
होटलमा अन्तरराष्ट्रिय स्तरका सुपर डिलक्स, एक सय जनासम्म अटाउने सभाहल, योगा हल, स्पा, जिम तथा स्विमिङ पुल रहनेछ । यो होटलमा नेपालमै पहिलोपटक ग्रील्ड आइटम मात्र पाइने रुफ टप रेष्टुरेन्ट पनि रहने पंगेनीले बताए । उनका अनुसार सो रेष्टुरेण्ट साँझमा मात्र सञ्चालन हुनेछ ।
कुल ३९ आना क्षेत्रफलमा निर्माण भइरहेको होटलमा २८ देखि ३२ वर्गमिटरसम्मका कोठा रहनेछन् । अहिले करिब एक सय जना मजदुर होटल निर्माणका लागिपरेको पंगेनीले जानकारी दिए । ठमेलमा ब्यागप्याकर मात्र पर्यटकको संख्या बढीरहेकोले स्तरिय होटलको चाहना राख्ने पर्यटकलाई लक्षित गर्दै रमाडा सञ्चालनमा ल्याउन लागिएको उनले बताए । अन्तरराष्ट्रिय चेन रमाडाको नाममा विश्वभर ९ हजारभन्दा बढी होटल सञ्चालनमा छन् ।