Logo

पर्यटक आम्दानी बढ्यो, पाँच महिनामा भित्र्याए २९ अर्ब ३२ करोड

पर्यटक आम्दानी बढ्यो, पाँच महिनामा भित्र्याए २९ अर्ब ३२ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न प्रचारात्मक कार्यक्रम सञ्चालनमा ल्याएसँगै नेपाल भित्रने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । पछिल्लो समय नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुँदा विदेशी मुद्रा भित्रने क्रम समेत बढेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ५ महिनामा विदेशी पर्यटकले २९ अर्ब ३२ करोड रुपैयाँ भित्र्याएका छन् । जुन गत आवको सो अवधिको तुलनामा ३० प्रतिशत अर्थात झण्डै साँढे ६ अर्ब रुपैयाँले बढी हो ।

गत बर्षको सो अवधिमा नेपाल घुम्न आउने पर्यटकबाट २२ अर्ब ६४ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै अघिल्लो आबको पाँच महिनामा विदेशी पर्यटकले नेपालमा १७ अर्ब ३५ करोड रुपैयाँ मात्र भित्र्याएका थिए ।

गत बर्ष नेपाल घुम्न आउने पर्यटकबाट ५८ अर्ब ५२ करोड रुपैयाँ रकम भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यसरी हेर्दा यस बर्ष विदेशी पर्यटकले भित्र्याउने रकमको आकार बढ्ने देखिन्छ । सरकारले यस बर्ष विभिन्न सामाजिक सञ्जालमार्फत प्रचारात्मक अभियानमार्फत धेरै पर्यटक तान्ने योजना बनाएको छ ।

नेपालमा बार्षिक रुपमा विदेशी पर्यटकबाट भित्रने रकमसँगै आउटवाउण्ड टुरिजमका लागि बाहिरिने रकममा पनि बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको सो अवधिमा नेपालबाट ३० अर्ब ३ करोड रुपैयाँ बाहिरिएको छ । जुन, नेपालीले विदेश गएर गर्ने खर्च हो । चालु आवमा आउटवाउण्ड टुरिजममा भएको खर्च गत आवको सो अवधिको तुलनामा सामान्य बढी हो ।

गत आवको पाँच महिनामा आउटवाउण्ड टुरिजममार्फत २९ अर्ब ६३ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको थियो । त्यस्तै अघिल्लो आवको पाँच महिनामा २३ अर्ब ६५ करोड रुपैयाँको बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL