रमेश लम्साल/सिबी अधिकारी
काठमाडौं । नेपाल पर्यटन बोर्डले सन् २०१७ मा ८७ करोड पर्यटन सेवा शुल्क आर्जन गरेको छ । पछिल्लो समय नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानी बढेको हो ।
नेपालका उडान गरिरहेका अन्तरराष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्क बापत बुझाउने रकममा बढोत्तरी भएको बोर्डले जानकारी दिएको छ ।
बोर्डले सन् २०१६ मा रु ५७ करोड पर्यटन सेवा शुल्क आर्जन गरेको थियो ।
बोर्डका अनुसार सन् २०१७ मा मात्रै करिब ९ लाख ४० हजार ६ सय ९३ पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका हुन् ।
अन्तरराष्ट्रिय वायु सेवा प्रदायकले सो परिणामको रकम बुझाएका हुन् । तर केही वायु सेवा प्रदायकले भने सोही शुल्कसमेत तिर्न अटेर गरेका छन् ।
नेपालमा उडान गर्ने अन्तरराष्ट्रिय वायु सेवा प्रदायकले नेपाली र भारतीय नागरिकबाहेक अन्य विदेशी नागरिकसँग प्रतिव्यक्ति रु १ हजारका दरले पर्यटन सेवा शुल्क उठाउने गरिएको छ । आन्तरिक उडान गर्दा विदेशी नागरिकले त्यस्तो शुल्क तिर्नु पर्दैन ।
नेपालमा स्वदेशी २ सहित जम्मा ३० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानमा के कति मात्रामा पर्यटक आउँछन् वा जान्छन् सोही आधारमा शुल्कको परिमाण घटी, बढी हुने गरेको पाइएको छ ।
प्रत्येक महिना वायु सेवा प्रदायकले सो शुल्क बोर्डलाई बुझाउनुपर्छ । वायु सेवा प्रदायकलाई बोर्डले ३ प्रतिशत कमिसन सो शुल्क उठाए बापत प्रदान गर्ने गरेको छ ।
तर उक्त शुल्कको सदुपयोग नभएको भन्दै सरोकार भएका संस्था वा निकायले बोर्डको पारदर्शीतामाथि प्रश्न उठाउने गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा सोही शुल्क खर्च गर्ने गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) मार्फत रकम उठाउँदै आएको छ । समूहमा र व्यक्तिगत रुपमा पदयात्रा गर्दा प्रतिव्यक्ति १ हजार शुल्क तिर्नुपर्छ । विसं २०६६ देखि उक्त रकम उठाउन थालिएको हो ।
बोर्डका निमित्त निर्देशक रोहिणी खनालका अनुसार सन् २०१५ मा रु १७ करोड १३ लाख ८४ हजार टिम्स शुल्क उठेको थियो । यस्तै सन् २०१६ मा रु १६ करोड ६४ लाख ३२ हजार उठ्दा सन् २०१७ मा रु १९ करोड ४० लाख ७७ हजार शुल्क उठेको छ । तर ती शुल्कको लेखापरीक्षण भने भइसकेको छैन । पर्यटक सेवा शुल्क र टिम्स नै बोर्डको वार्षिक बजेटको मुख्य स्रोत हो ।
सन् २०१८ का लागि बोर्डले रु एक अर्ब ३७ करोड २० लाख वार्षिक बजेट तय गरेको छ । सन् २०१७ मा रु एक अर्ब १२ करोड ५० लाख बजेट तय गरिएको थियो ।
सात करोेडभन्दा बढी बक्यौता
नेपालमा उडान भर्दै आएको मलेसियन वायु सेवा प्रदायक एयर एशियाले रु ७ करोड २३ लाख पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ ।
विगत एक वर्षदेखि उक्त वायु सेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका निमित्त निर्देशक खनालले जानकारी दिनुभयो । एयर एशियाको उक्त रकम जरिवानासहितको हो । रासस