रमेश लम्साल/ सिबी अधिकारी
काठमाडौं । मुलुकभित्र सुविधा सम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् ।
सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भित्र्याउन लागिपरेका हुन् ।
नेपालमा बुद्ध एयर, यति एयर, श्रीलगायतका निजी वायु सेवा प्रदायक मात्रै नभई भर्खर सञ्चालनमा आउन लागेका कम्पनीसमेत सेवा विस्तारका लागि नयाँ विमान खरिद गर्ने होडबाजीमा लागेका हुन् ।
यता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, उडान तथा अवतरणमा पालो कुर्नुपर्ने अवस्था रहेको छ । स्वदेशी मात्रै नभई विदेशी वायु सेवा प्रदायकसमेत उच्च ट्राफिक हुने दिउँसोको समयमा प्रतिक्षा गर्नुपर्ने भए पनि सेवा विस्तारका लागि भन्दै निजी वायु सेवा प्रदायक नयाँ विमान भित्र्याउन लागेका हुन् ।
विशेष गरी नयाँ ल्याउन लागिएका विमान धेरै यात्रु हुने क्षेत्र ९ट्रङक रुट० नै केन्द्रित गरिँदा भने दुर्गम क्षेत्रमा सेवा पुग्न सकेको छैन । वायु सेवा प्रदायक कम्पनीका अनुसार ट्रङक रुटमा नै बढी प्रतिस्पर्धा हुने गरेको छ ।
बुद्ध एयरसँग हाल नौ वटा जहाज सञ्चालनमा रहेका छन् । अर्को एक जहाज केही समयभित्रै नेपाल भित्रने छ । आगामी दश वर्षमा ३२० सिरिजमा २० नयाँ विमान भित्र्याउने तयारीमा बुद्ध एयर रहेको छ ।
यस्तै यति एयरले हाल ३० सिट क्षमताका सात वटा जेटस्ट्रिम ४१ ट्विन टर्बो प्रोप विमान सञ्चालन गरिरहेको छ । यतिले निकट भविष्यमा नै एटिआर विमान भित्र्याउने तयारीमा रहेको छ ।
एकै पटक तीन वटा क्यानेडियन कम्पनीले उत्पादन गरेका जहाज ल्याएर प्रतिस्पर्धामा उत्रिएको श्री एयरले थप जहाज ल्याउने तयारी गरेको छ । सो कम्पनीका ५० सिट क्षमताका दुई वटा र ७८ सिटको एक जहाजले हाल सेवा दिइरहेको छ । श्री एयरले पनि नयाँ एउटा जहाज थप गर्ने तयारी गरेको छ । सो कम्पनीको आठ वटा हेलिकप्टर सञ्चालनमा छन् । श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले थप जहाज ल्याउने तयारीमा आफूहरु रहेको जानकारी दिए ।
यस्तै सञ्चालनमा रहेको सौर्य एयर पनि नयाँ विमान ल्याउने तयारीमा छ । सो कम्पनीका दुई वटा विमान सञ्चालनमा छन् । यस्तै सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान ब्रजाचार्यले पनि हेलिकप्टर भित्र्याउने तयारीमा रहेको बताए । सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर सञ्चालनमा छन् । थप एक कैलाश हेलिकप्टर ल्याउने तयारीमा कम्पनी रहेको ब्रजाचार्यको भनाइ छ ।
नेपाल वायु सेवा निगम पनि तीन चिनियाँ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । निगमको दुई ठूला जहाज एकाध महिनाभित्र नेपाल भित्र्नेछ । अन्तर्राष्ट्रिय उडानका लागि ती जहाज ल्याउन लागिएको हो । निगमले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको ऋणमा जहाज खरिद गर्न लागेको हो ।
यस्तै चीनबाट थप दुई नयाँ विमान आउने तयारीमा रहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले थप जहाज भित्र्याउन लागेको छ । हाल तीन वटा जहाजमार्फत सेवा दिइरहेको छ ।
नेपाल वायुयान सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्की एकपछि अर्को गर्दै वायु सेवा प्रदायक कम्पनीले जहाज थप्दै गएको सन्दर्भमा विमानस्थल साँघुरो भएको र विस्तारमा सोचे जति प्रगति नभएको गुनासो गर्छन् ।
निगमका पूर्व नायब महाप्रबन्धक राजु केसीले नेपाली स्वयंले नै विमान ल्याउने र उडानमा प्रतिस्पर्धा गर्नु एकदमै राम्रो भएको बताउछन् । निर्माणाधीन विमानस्थलबाट सेवा दिन पनि निजी वायु सेवा प्रदायकले जहाज थप्नु जरुरी रहेको भन्दै उहाँले पूर्वाधार थप गर्नुपर्ने र विस्तार गर्नुपर्नेमा जोड दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमान ल्याउने वायु सेवा प्रदायकलाई काठमाडौँ उपत्यका बाहिर पार्किङ गर्न निर्देशन दिइसकेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, पोखरामा जहाज पार्किङ गर्न प्राधिकरणले निजी सेवा प्रदायकलाई भनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ नौ वटा मात्रै जहाज पार्किङ गर्न सकिन्छ । त्यस्तै आन्तरिकतर्फ १७ वटा पार्किङ गर्न सकिने भए पनि जहाज थपिँदै जाँदा २८ वटासम्म पार्किङ हुने गरेको छ ।
त्रिभुवन अन्तरराष्टिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पर्यटक बढाउन पनि नयाँ जहाज जरुरी रहेको भए पनि पूर्वाधारको अभावमा समस्या परेको बताउछन् । उहाँका अनुसार विमानस्थलको क्षमताका कारण थप जहाज धान्न गाह्रोपर्ने र अब थपिने जहाज अन्य स्थानमा पार्किङ गर्नुपर्ने अवस्था आएको छ । रासस