Logo

अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या, किन पुग्छन् काँकडभित्ता ?

अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या, किन पुग्छन् काँकडभित्ता ?


बिजखबर संवाददाता
0
Shares

इलाम । इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो ।

सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिनका लागि झापाको काँकडभित्ता नै पुग्नुपर्ने बाध्यता छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि सो अनुमति नचाहिने भए पनि अन्य मुलुकबाट आउने पर्यटकले अनुमतिपत्र लिनुपर्ने हुन्छ ।

इलाममा अझ बढी पर्यटक भित्रिने भए पनि काँकडभित्ता पुग्नुपर्ने बाध्यताका कारण पशुपतिनगरबाट नेपालका पूर्वी क्षेत्र आउने सबै पर्यटक इलाम नआउने गरेका छन् । पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा नेपाली तथा भारतीय पर्यटन व्यवसायीलाई नै समस्या भएको उनीहरु बताउँछन् ।

इलाम पर्यटकीय जिल्ला हो । जहाँ आन्तरिक तथा बाह्य पर्यटक गरी धेरै पर्यटक आउने गर्छन् । तर भारतको सिलिगुडी, दार्जिलिङलगायतबाट पशुपतिनगर हुँदै इलामको पूर्वी क्षेत्र भित्रिने पर्यटकले सानो कामका लागि पनि झापाको काँकडभित्ता नै जानुपर्ने बाध्यता छ ।

कति पर्यटक त समस्या बुझेपछि पशुपतिनगरबाट इलाम नै नछिरी त्यहाँबाट नै फर्कने गरेको सिलिगुडीका पर्यटन व्यवसायी बताउँछन् ।

सिलिगुडीबाट बंगाली पर्यटक लिएर नेपाल आउनुभएका पर्यटन व्यवसायी विनोद गुप्ताले चाँडै यो समस्या समाधान नभए आफूहरु र इलामका पर्यटन व्यवसायीलाई समेत घाटा हुने बताए ।

भारततर्फको फाटकमा भारतीय पक्षबाट सो कार्यालय स्थापना गर्न पहल गरे पनि नेपालको पशुपतिनगरतर्फ नेपाल सरकारले कुनै प्रक्रिया अघि नबढाएको उनले बताए ।

पशुपतिनगरबाट पर्यटक आवागमन गर्ने अनुमति प्राप्त हुन सके जिल्लामा पर्यटकको ओइरो लाग्ने पर्यटन व्यवसायी तथा होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल बताउँछन् । ‘हामीले धेरैपटक यो कुरा नेपाल सरकारसमक्ष पुर्यायौँ तर कसैले सुनेन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्