काठमाडौं । सन् २०१६/१७ मा नेपालमा विदेशी पर्यटकबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ भित्रिएको छ । सो रकम विदेशी पर्यटकले नेपालमा घुम्न आउँदा खर्च गरेका हुन् । जुन २०१५/१६ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले गरेको खर्च भन्दा ४० प्रतिशत बढी हो ।
२०१५/१६ मा ४१ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ खर्च गरेका थिए । नेपाल राष्ट्र बैंकको हालै सार्बजनिक तथ्यांकले यस्तो देखाएको हो ।
त्यस्तै २०१४/१५मा २०१५/१६ को तुलनामा २१ दशमलब ८ प्रतिशतले बढी अर्थात ५३ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खर्च गरको तथ्यांक छ ।
पछिल्ला केही बर्षमा नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा गर्ने खर्चको आकार ठूलो छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च बार्षिक रुपमा बढेको छ ।
२०१६/१७ मा नेपाली पर्यटकले विदेशमा गर्ने खर्च ४१ दशमलब ७ प्रतिशतले बढेको छ । सो अबधिमा आउटबाउन्ड टुरिजममा ७९ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । २०१५/१६ मा ५६ अर्ब ४१ करोड रुपैयाँ सो प्रायोजनका लागि बाहिरिएको थियो । त्यस्तै २०१४/१५ मा ५३ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । जसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश गरिएको छैन ।