Logo

वाइड बडी खरिदका लागि अग्रिम भुक्तानीको प्रक्रिया अघि बढ्यो, ८ अर्ब पठाइने

वाइड बडी खरिदका लागि अग्रिम भुक्तानीको प्रक्रिया अघि बढ्यो, ८ अर्ब पठाइने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पो रेसनलाई अग्रिम भुक्तानी (प्रि डेलिभरी पेमेन्ट) गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले वाइड बडी जहाज खरिदका लागि कम्पनीलाई शुरुमा ८ अर्ब रुपैयाँ भुक्तानी गर्न लागेको प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । ‘राष्ट्र बैंकमा विदेशी मुद्रा विनिमयको अनुमतिका लागि प्रस्ताव गरेका छौं,’ उनले भने, ‘बैंकले अनुमती दिना साथ कम्पनीलाई भुक्तानी गर्ने छौं ।’

उनका अनुसार आगामी सोमबारसम्म अमेरिकी कम्पनीलाई अग्रिम भुक्तानी उपलब्ध गराइने छ । जुन १ मा अग्रिम भुक्तानीको मिती सकिएपनि कम्पनीले समय थप गरेको हो ।

नेपाल एयरलाइन्सले एयरबसको वाइड बडी जहाज खरिदका लागि आइतबार कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिने सम्झौता गरेको थियो । साथै सोमबार नागरिक लगानी कोषसँग १२ अर्ब ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार निगमले ४ अर्ब रुपैयाँ सञ्चय कोषबाट र ४ अर्ब रुपैयाँ नागरिक लगानी कोषबाट लिई एएआर कर्पोरेसनलाई पठाउने छ ।

लगानी कोष र सञ्चय कोषले ९ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो । सम्झौता अनुसार निगमले दुबै संस्थालाई १५ बर्षमा ऋण तिर्ने छ ।

निगमले एएआरसँग गत माघ १४ मा समझदारी गरेको थियो । गत फागुन ४ मा निगमले १० करोड रुपैयाँ बैना पठाएको थियो । निगमले खरिद गर्न लागेका दुइटा विमानमध्ये पहिलो विमान आगामी मंसिरमा काठमाडौं ल्याइने छ । त्यस्तै अर्को विमान फागुनमा ल्याइने भनिएको छ । ए ३३०–२०० सिरिजका यी विमानमा २ सय ८० सिट क्षमता हुनेछ ।
दुईओटा एयरबस ३३०–२०० संस्करणसम्म एक हजार घण्टासम्म उडेको जहाज खरिद गर्नसक्ने भन्दै निगमले ग्लोबल टेन्डर आह्वान गरेको थियो । जसमा अमेरिकी कम्पनीले सबैभन्दा कम रकममा ब्राण्ड न्यू जहाज उपलब्ध गराउने प्रस्ताव गरेको हो । सो कम्पनीले निगमलाई १ सय ४ मिलियन अमेरिकी डलरमा २ वटा नयाँ वाइड बडी विक्री गर्न लागेको हो । वाइड बडी आएपछि साउथ कोरिया, युरोप, अष्ट्रेलिया, लन्डनलगायत ५ देशमा उडान गरिने छ ।

निगमले खरिद गर्न लागेको जहाज ए३३०–२०० ले एकतर्फी सिधा नौदेखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्नेछ । निगमसँग विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ हल गन्तव्यमा उडान गरिसकेको अनुभव छ । त्यही अनुभव लिएर पुनः लङ हल गन्तव्य उडान गर्न लागिएको निगमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्