काठमाडौं । दुई ओटा एयरबस खरिदका लागि आवश्यक रकम जुटाउने प्रयासमा रहेको नेपाल वायु सेवा निगमलाई कर्मचारी सञ्चयकोष पछि नागरिक लगानी कोषले ऋण उपलब्ध गराउने भएको छ । निगमलाई ऋण दिने विषयमा लगानी कोष र निगमबीच आज एक बजे हस्ताक्षर हुने कार्यक्रम छ । आइतबारमात्रै सञ्चय कोषले निगमलाई ९ प्रतिशत ब्याजदरमा १२ अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरेको थियो । लगानी कोषका अनुसार एयरबस खरिदका लागि आवश्यक बाँकी रकम करिब ११ अर्ब रुपैयाँ निगमलृ ऋणका रुपमा प्राप्त गर्नेछ ।
निगमले गत चैत २५ गते अमेरिकी कम्पनी एएआर कर्पोरेशनसँग दुई ओटा एयरबस खरिदको सम्झौता गरेको थियो । सम्झौता अनुसार कर्पोरेशनले सन् २०१८ को मे महिनासम्म दुई ओटा एयरबस निगमलाई उपलब्ध गराउनेछ । सोही एयरबस खरिदका लागि निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग आवश्यक करिब २३ अर्ब रुपैयाँ ऋण लिने भएको हो ।