काठमाडौं । नेपालको पर्यटन क्षेत्रको अथाह सम्भावनाका विषयमा त निकै चर्चा परिचर्चा हुने गर्छ । यहाँ रहेका स्रोतको उपयोग गर्न सके धेरै सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ भन्ने कुरा खासै नौलो रहेन । पर्यटक बढाउन सरकारले छुट्टै मन्त्रालयको पनि स्थापना गरेको छ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय । तर पछिल्लो समय यो मन्त्रालय नै आफै पर्यटकीय क्षेत्र जस्तो बनेको छ । सबैभन्दा धेरै मन्त्री फेरिने मन्त्रालय बनेको छ पर्यटन मन्त्रालय । तीन बर्षमा सात जना मन्त्री यो मन्त्रालयले पायो । नाम जस्तै मन्त्री नै पर्यटक जस्ता बनेका छन् ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार गठन हुनु अघि गत बर्ष बैशाखमा आनन्द प्रसाद पोखरेलले यो मन्त्रालय सम्हालेका थिए । भदौमा दाहाल नेतृत्वको सरकार बनेपछि काङ्गे्रसका तर्फबाट जीवन बहादुर शाहीले मन्त्रालयको जिम्मेवारी पाए । उनले पनि केहि समयपछि खानेपानी मन्त्रालयमा सरुवा पाएर त्यहिंको मन्त्री बने । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सामेल भएपछि दिलनाथ गिरीले मन्त्रालयमा प्रवेश पाए ।
लामो समय स्वास्थ्यमा अस्वस्थता भएपछि धेरै समय त उनले अस्पतालमै बिताउनुपर्यो। तीन महिनाको पुरा कार्यकाल पनि बित्न नपाउँदै राप्रपाले सरकार छाड्ने भएपछि यो मन्त्रालय फेरि खाली भयो । मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) गत हप्तामात्रै सरकारमा सामेल भएपछि एक बर्षको बीचमा चौथो मन्त्रीको रुपमा जितेन्द्र नारायण देव मन्त्रालयमा उपस्थित भएका छन् । निर्वाचन लगत्तै अर्को सरकार गठन हुने चर्चाले मन्त्रालयको जिम्मेवारीमा हेरफेर भएपनि आश्चर्य मान्नुपर्ने अवस्था छैन ।
यसरी छिटो छिटो मन्त्री फेरिदा पर्यटन क्षेत्रले गति लिन नसक्ने होटल एसोसिएसन अफ नेपाल(हान)का महासचिव विनायक शाह बताउँछन् । ‘मन्त्री भएर पर्यटन क्षेत्रको बारेमा केहि बुझ्न थालेको हुन्छ, त्यसको केहि समयमै पदमुक्त हुने अवस्था आउँछ’ उनले भने ‘यस्तो अवस्थामा पर्यटन क्षेत्रको विकास कसरी हुन्छ’ । छोटो समयमै मन्त्री परिवर्तन हुँदा पर्यटकको आवश्यकता र व्यवसायीको समस्या सम्बोधन नहुने टे«किङ एजेन्सी अफ नेपाल(टान)का अध्यक्ष चन्द्र रिजालको भनाइ छ । पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुको सट्टा मन्त्री परिवर्तनमा अल्झिदा यो क्षेत्रले विकास गर्न नसक्ने पर्यटन क्षेत्रका सरोकारवाला बताउँछन् ।