काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरिएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षको स्वागत गरेका हुन् । नयाँ वर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीयस्थलमा पर्यटक भरिभराउ छन् । फेवाताल, बेगनाससहित विभिन्न मन्दिर र गुफाहरुमा पर्यटकको घुइँचो रहेको छ ।
नयाँ वर्षको स्वागतका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । होटल सङ्घ पोखराको आयोजनामा भइरहेको फेवा नव वर्ष महोत्सवका कारणले समेत यहाँका पर्यटकीयस्थलमा पर्यटक आगमन बढाएको छ ।
आतिशबाजीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाउने उद्देश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएको उनले बताए ।
नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किमी सडकमा नव वर्ष महोत्सव आयोजना गरिएको र महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष सुवेदीले लेकसाइडका होटलमा यतिबेला अकुपेन्सी ८० प्रतिशत पुगेको बताए ।
अध्यक्ष सुवेदीले भने, ‘देशको पर्यटकीय राजधानी सहर पोखरामा भव्यरुपमा नेपाली नयाँ वर्षको स्वागत गरेका छौँ । हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षको खुसी साट्नुभएको छ । नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य पोखरा हो भन्ने कुरा स्थापित भएको छ ।’
नयाँ वर्ष तथा विभिन्न बिदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले नयाँ वर्षमा पर्यटन व्यवसायमा चहलपहल बढेको अध्यक्ष सुवेदीले बताए । नयाँ वर्षको स्वागतका लागि राति अबेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए ।
लेकसाइडका सबै जसो प्रमुख चोकहरुमा पञ्चेबाजा, भजन, रत्यौली, कन्सर्ट तथा गीत सङ्गीत प्रस्तुत गरिएको थियो । नयाँ वर्ष मनाउनका लागि पोखरामा केही दिनदेखिनै पर्यटकको बाक्लो चहलपहल बढेको होटल सङ्घले जनाएको छ ।
यही चैत ३० गतेदेखी सुरु नव वर्ष महोत्सव आज सकिदै छ । नेपाली नयाँ वर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव गरिएको हो ।
महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहसन र पर्यटक दौडलगायत रहेका थिए ।
नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढेको छ । पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायतका धार्मिकस्थलमा बिहानदेखिनै भक्तजनको घुइँचो लागेको छ । विन्ध्यवासिनी मन्दिरमा पूजाआजाका लागि बिहान ४ बजेदेखिनै भक्तजनको बाक्लो लाइन लागेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । रासस