काठमाडौं । गएको फेब्रुअरी महिनामा नेपालमा अन्तरराष्ट्रिय पर्यटक आगमन ९६ हजार ८ सय ८० पुगेको छ । अध्यागमन कार्यालयले तथ्यांक सार्वजनिक गर्दै पछिल्ला तथ्यांकहरूले नेपालमा पर्यटन क्षेत्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो ।
पछिल्ला केही वर्षहरूमा महामारीको असरले नेपालमा पर्यटन क्षेत्र निकै प्रभावित भएको थियो। तर, पछिल्लो समय नेपाल आउने पर्यटकहरूको संख्या निरन्तर बढ्दै गएको विभागको तथ्यांकमा देखिन्छ। पुसदेखि फागुनसम्म १ लाख ७६ हजार ८ सय ७१ पर्यटक नेपाल आएका छन्, जुन फेब्रुअरी २०१९ को तुलनामा ९४.६ प्रतिशत पुनरुत्थान हो। यसले नेपाल पर्यटन क्षेत्र विस्तार हुँदै गएको र अन्तर्राष्ट्रिय स्तरमा आकर्षण बढ्दै गएको पुष्टि गर्छ।
सबैभन्दा धेरै पर्यटक भारतबाट
नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्यामा भारत अग्रस्थानमा रहेको छ। फेब्रुअरी महिनामा मात्र १९ हजार १ सय ८७ भारतीय पर्यटक नेपाल आएका छन्, जसले कुल पर्यटकको १९.८ प्रतिशत हिस्सा ओगट्छ। त्यसपछि क्रमशः १० हजार ३ सय ४८ अमेरिकी पर्यटक, ८ हजार २ सय ३२ चिनियाँ पर्यटक, ५ हजार ६ सय ९ थाइ पर्यटक, र ५ हजार ५७ बेलायती पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत आगमनको विवरण
नेपाल आउने पर्यटकहरूको क्षेत्रगत विवरण हेर्दा दक्षिण एशियाबाट सबैभन्दा बढी पर्यटक आएका छन्।
- दक्षिण एशियाली क्षेत्र (सार्क राष्ट्रहरू) बाट ३० हजार १ सय ९६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३१ प्रतिशत हो।
- अन्य एसियाली मुलुकहरूबाट २८ हजार ९८ पर्यटक आएका छन्।
- युरोपबाट १५ हजार ९ सय ७१ पर्यटक नेपाल आएका छन्।
- ओसिनियाबाट ३,९६१,
- अमेरिकी महादेशबाट १२,५६०,
- मध्य पूर्वबाट ८७९,
- अफ्रिकाबाट ३२०,
- अन्य मुलुकहरूबाट ४,८९५ पर्यटक नेपाल आएका छन्।
पर्यटन क्षेत्रमा सुधारको संकेत
विगतका वर्षहरूमा नेपालमा पर्यटक आगमनमा ठूलो गिरावट आएको भए पनि पछिल्लो समय सुधार देखिएको छ। विशेष गरी नेपाल सरकार र निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रम तथा अन्तर्राष्ट्रिय अभियानहरू सञ्चालन गरेपछि नेपालप्रति आकर्षण बढेको देखिन्छ।
सरकारले पर्यटन पुनरुत्थानका लागि विभिन्न नीतिगत सुधारहरू गर्दै लगेको छ भने हिमाली पदयात्रा, धार्मिक पर्यटन, साहसिक पर्यटन, र ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड दिएको छ। विश्वभरका पर्यटकहरू नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, तथा साहसिक गतिविधिहरूमा आकर्षित भइरहेका छन्।