काठमाडौं । शंखरापुर नगरपालिकाले शालिनदी मेला र स्वस्थानी व्रतको अवसरमा २०८१ माघ १६ गतेदेखि १९ गतेसम्म ‘शंखरापुर सक्व महोत्सव २०८१’ आयोजना गर्ने भएको छ। महोत्सवको उद्देश्य मौलिक साँखु सम्पदा बस्तीलाई विश्वसामु चिनाउँदै नगरवासीको आर्थिक, सामाजिक, र सांस्कृतिक समृद्धिमा योगदान पुर्याउनु हो।
महोत्सवले नगरपालिकाको मौलिक संस्कृति, परम्परा, र सम्पदालाई संरक्षण तथा प्रवर्द्धन गर्दै, स्थानीय वस्तु तथा सेवाको बजारीकरणलाई प्राथमिकता दिनेछ। शालिनदी र माघी मेलामा आउने लाखौं भक्तजन र पर्यटकलाई साँखु सम्पदा बस्तीको विशेषता र यहाँको कृषि, पर्यटन, र सांस्कृतिक धरोहरसँग परिचित गराउनु मुख्य लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा नगर परिक्रमा, कृषि उत्पादन र हस्तकलाको प्रदर्शनी, परम्परागत सामान र कलाको प्रदर्शन, चित्रकला तथा फोटो प्रदर्शनी, लोकदोहोरी प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, र प्यानल छलफललगायतका आकर्षक गतिविधिहरु समावेश गरिने बताईएको छ ।
लोकप्रिय गायक कुमा सागर र उनको ख्वप ब्याण्डको विशेष कन्सर्ट महोत्सवको मुख्य आकर्षण हुनेछ भने प्रख्यात कलाकारद्वारा आयोजित प्रहसनले कार्यक्रममा थप उत्साह दिनेछ।
महोत्सवले शंखरापुर नगरपालिकालाई दीर्घकालीन रुपमा पर्यटकीय नगरको रुपमा स्थापित गर्ने, नगरवासीको आय वृद्धि गर्ने, र स्थानीय सम्पदाको महत्व उजागर गर्ने विश्वास गरिएको छ। नगरपालिका, वडानं ६ र ७ को संयोजनमा आयोजना गरिने यो महोत्सवले साँखुको ऐतिहासिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको छ।