काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो अन्तरराष्ट्रिय उडानका भाडादरमा विशेष छुटको घोषणा गरेको छ। निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन अनुसार यात्रुहरूलाई राहत दिन विभिन्न सेक्टरका उडानहरूमा छुटको व्यवस्था मिलाएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २०२४ नोभेम्बर ८ मा दश घण्टा बन्द भएपछि हवाई उडानहरू कटौती भई यात्रुको संख्या वृद्धि भएका कारण भाडा उच्च भएको यात्रुहरूको गुनासो आएको थियो। यस सन्दर्भमा निगमले आफ्ना उडानका भाडादर माग र आपूर्तिको आधारमा तोकिएको दायराभित्र रहेको दाबी गरेको छ।
निगमले दिल्ली, मुम्बई र वैंगलोर सेक्टरका भाडादरमा २ हजार ५ सय रुपैयाँसम्म र दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, वैंकक तथा नारिता सेक्टरमा ५ हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको जनाएको छ। उक्त छुट पहिलो आउने यात्रुलाई पहिलो प्राथमिकता दिने आधारमा उपलब्ध गराइनेछ। छुट पाउन यात्रुले आफ्नो परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
सामाजिक उत्तरदायित्व
सामाजिक उत्तरदायित्व अन्तर्गत, नेपाल वायुसेवा निगमले २०२४ नोभेम्बर १ देखि २२ सम्म अर्बुदरोग पीडितहरू र उनीहरूका परिवारलाई विशेष सुविधा दिएको छ। निगमले काठमाडौ–दिल्ली–काठमाडौं सेक्टरमा ३७ जना अर्बुदरोग पीडितलाई शतप्रतिशत छुटमा र ३३ जना कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराएको छ। साथै, २१ जना सरकारी कर्मचारीलाई १५ प्रतिशत छुटको सुविधा दिएको जानकारी निगमले गराएको छ।
निगमले यात्रुहरूसँग थप शुल्क लिएर कालोबजारी भएको पाइएमा प्रमाणसहित जानकारी गराउन आग्रह गरेको छ। यस अवस्थामा दोषीलाई नियमानुसार कडा कारबाही गरिने जनाएको छ।