काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्तावापत ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि यी दुई निकायबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ असोज महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक किस्ता भुक्तानी गरेको हो ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ असोजसम्मको अवधिमा ६ अर्व ३२ करोड ८५ लाख ९७ हजार ५ सय ३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जानकारी दिएको छ ।
विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।