Logo

सेप्टेम्बरमा नेपाल भित्रिए ९६ हजार पर्यटक, कोरोना अघिको तुलनामा ४ प्रतिशतले वृद्धि

सेप्टेम्बरमा नेपाल भित्रिए ९६ हजार पर्यटक, कोरोना अघिको तुलनामा ४ प्रतिशतले वृद्धि



काठमाडौं । गएको सेप्टेम्बर महिनामा नेपालमा ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बरमा उक्त संख्यामा विदेशी पर्यटकले नेपाल घुमेका हुन् । सेप्टेम्बरमा भएको पर्यटन आगमन अघिल्लो वर्ष २०२३ को तुलनामा ५.८२ प्रतिशतले बढी हो ।

२०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल आएका थिए । साथै, यो २०१९ को तुलनामा ४ प्रतिशतले बढी हो, विश्वसँग नेपालभर कोरोना महामारी आउनु अघि ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल भित्रिएका थिए ।

कोरोना महामारीले २०२० देखि २०२२ सम्म विश्वभर पर्यटन क्षेत्रलाई गहिरो प्रभाव पारेको थियो । नेपाल पनि यसको ठूलो मारमा परेको देशहरूमध्ये एक हो । २०२० मा महामारीका कारण पर्यटक आगमन लगभग शून्यको नजिक पुगेको थियो, त्यो बर्ष नेपालमा जम्मा ५ सय ८४ जना पर्यटक मात्रै भित्रिएका थिए ।

यो समयलाई पर्यटन क्षेत्रको लागि सबैभन्दा कठिन समय मानिन्छ । तर, पछिल्लो दुई वर्षमा स्थिति बिस्तारै सुध्रिँदै गयो । २०२१ मा पर्यटक आगमन ९ हजार ९ सय ७ सम्म बढ्यो, जुन अलिकति सुधारको संकेत थियो । २०२२ मा यो संख्या ५८ हजार ३ सय १४ मा पुग्यो । त्यसपछिको वृद्धि निरन्तर रहँदै २०२३ र २०२४ मा सकारात्मक दिशा लिएको देखिन्छ ।

चालु बर्षको सेप्टेम्बरमा नेपाल आउने पर्यटकहरूमध्ये भारत मुख्य पर्यटक उत्पन्न गर्ने देशको रूपमा अगाडि देखिएको छ । भारतबाट २२ हजार ९ सय ८४ जना पर्यटक नेपाल आएका छन् । भारत नेपालका लागि सदाबहार प्रमुख पर्यटन स्रोत हो, जसले हिमाली क्षेत्रको पदयात्रा, मन्दिरहरूको भ्रमण, र धार्मिक पर्यटनलाई प्राथमिकता दिएको पाइन्छ ।

त्यसपछि दोस्रो ठूलो पर्यटक आउने देश अमेरिका हो, जहाँबाट १० हजार ८४ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट आउने पर्यटकहरु मुख्यतया हिमाल आरोहण, साहसिक गतिविधि, र नेपालको सांस्कृतिक सम्पदा अध्ययन गर्न आउने गर्छन् । चीनबाट ८ हजार ४२ जना पर्यटक नेपाल आएका छन्, जसले चीन पनि नेपालको प्रमुख पर्यटन स्रोत रहेको देखाउँछ ।

नेपालमा धेरै पर्यटक आउने अन्य प्रमुख देशहरूमा अष्ट्रेलिया (५,०३८), श्रीलंका (४,९१५), बेलायत (४,४९३), बङ्गलादेश (४,१०३), जर्मनी (२,७०४), दक्षिण कोरिया (२,३५१), र मलेसिया (२,२८०) रहेका छन् । यी सबै देशबाट आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि भएको देखिन्छ, जसले नेपालको पर्यटन बजारलाई अन्तरराष्ट्रिय रूपमा बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्