Logo

एक अर्ब ३६ करोडले घट्यो प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन क्षेत्रमा भने आकर्षण उच्च

एक अर्ब ३६ करोडले घट्यो प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन क्षेत्रमा भने आकर्षण उच्च



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) १ अर्ब बढीले घटेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा १ अर्ब ३६ करोड रुपैयाँले घटेको हो ।

गत आर्थिक बर्षको साउन र भदौमा नेपालमा विदेशी लगानीकर्ताहरुले १४ अर्ब ६२ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका थिए । तर, चालु आवको सोही अवधिमा नेपालमा जम्मा १२ अर्ब ९८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

लामो समयदेखि नेपाली उद्योगी व्यवसायीहरुले स्वदेशी लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको वातावरण नभएको र सरकारले नीतिगत सुधार गरेर वातावरण बनाउनुपर्ने बताउँदै आएका छन् । तर, उद्योगी व्यवसायीहरुको आग्रह र नीतिगत परिवर्तनमा सरकारले ध्यान नपुर्याउँदा यसको असर प्रत्यक्ष वैदेशिक लगानीमा पनि परेको सम्बद्ध उद्योगीहरु बताउँछन् ।

सरकारले गत बैशाखमा लगानी सम्मेलनसमेत गरेको थियो । वैदेशिक लगानी आकर्षित गर्नकै लागि एकैपटक ठूलो संख्यामा नीतिगत परिवर्तनसमेत गरिएको थियो । तर, उक्त परिवर्तनको प्रभावसमेत प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धतामा नदेखिएको उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओली बताउँछन् । ‘उद्योगी व्यवसायीको आग्रहअनुसार सरकारले नीतिगत सहजीकरणका लागि एकैपटक ठुलो संख्यामा नीतिहरु संशोधन गरेकै हो,’ उनले भने, ‘यति हुँदाहुँदै पनि यसको प्रभाव लगानी प्रतिवद्धतामा नपरेको देखिन्छ ।’

पछिल्लो समय समग्र लगानी प्रतिवद्धता घटेपनि हालसम्म आएको प्रतिवद्धतामा विदेशी लगानीकर्ताहरुको आकर्षण पर्यटन क्षेत्रमा रहेको देखिन्छ । गत आर्थिक बर्षको पहिलो २ महिनामा कुल लगानी प्रतिवद्धताको ४८ प्रतिशत हिस्सा ओगटेको पर्यटनमुलक क्षेत्रले चालु आवको सोही अवधिमा ७३ प्रतिशत हिस्स्सा ओगटेको हो । यस अवधिमा सेवामुलक क्षेत्रमा आउने लगानीको हिस्सा भने घटेको देखिन्छ । गत आवमा सेवामुलक क्षेत्रमा कुल लगानीको ३९ प्रतिशत लगानी आएपनि चालु आवमा यो क्षेत्रमा कुल लगानीको १६ प्रतिशत मात्रै आएको देखिन्छ । यस्तै यस अवधिमा उत्पादनमुलक, सूचना तथा प्रविधि, कृषि, खनिज र उर्जामुलक क्षेत्रमा पनि लगानी केहि घटेको देखिन्छ ।

चालु आर्थिक बर्षको दुई महिनामा अटोमेटिक रुटबाट ८६ करोड २५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । सरकारले गत बैशाखमा आयोजना गरेको लगानी सम्मेलनकै बीचमा अटोमेटिक रुटबाट ५० करोडसम्मको लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो । यो व्यवस्थाले विदेशी लगानीकर्ताले घरबाटै लगानीको स्वीकृति लिन सकिने अवस्था रहेपनि लगानीकर्ताहरुले यसको प्रयोगसमेत न्यूनरुपमा गरेको देखिन्छ ।

चालु आवको २ महिनामा आएको लगानी प्रतिवद्धतामार्फत ४ सय ८५ जनाले रोजगारी पाउने उद्योग विभागले जानकारी दिएको छ । पछिल्लो समय विदेशी लगानीकर्ताहरु नेपालमा सानो लगानी धेरै भित्र्याउने गरेको पनि विभागले जानकारी दिएको छ । चालु आवको पछिल्लो २ महिनामा नेपालमा दर्ता भएका ९७ उद्योगमध्ये ९५ उद्योगहरु साना प्रकृतिका छन् । बाँकी २ उद्योगमात्रै ठूला प्रकृतिका छन् । यसले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न कन्जुस्याईँ गरिरहेको पनि देखाउने विभागका सूचना अधिकारी ओली बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL