Logo

विमान दूर्घटनासँगै परिवारसरहका सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत भएका छौं : सौर्य एयरलाईन्स

विमान दूर्घटनासँगै परिवारसरहका सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत भएका छौं : सौर्य एयरलाईन्स



काठमाडौं । सौर्य एयरलाइन्सले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने प्रतिष्ठित तथा विज्ञहरुको क्षतिबाट कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रसमेतले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै यस दुःखद् घडीमा शोक सन्तप्त परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन् ।

पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैँ रहने एयरलाइन्सले विज्ञप्तिमार्फत् जनाएको छ । ‘सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पु(याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले विमान दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्य बाँच्न सफल भएका छन् । दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचार कक्षमा उपचार गरिएको थियो । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL