Logo

दैनिक झण्डै १२ हजार खर्च गर्छन नेपालमा विदेशी पर्यटक, ९८ प्रतिशत नगद कारोबार

दैनिक झण्डै १२ हजार खर्च गर्छन नेपालमा विदेशी पर्यटक, ९८ प्रतिशत नगद कारोबार



काठमाडौं । नेपालको गण्डकी प्रदेशमा घुम्ने विदेशी पर्यटकहरुले औसतमा दैनिक करिव १२ हजार रुपैयाँ खर्च गर्ने गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा घुम्ने विदेशी पर्यटकहरुमध्ये प्याकेज लिएर घुम्ने पर्यटकहरुले औसतमा दैनिक ११ हजार ८ सय ८६ रुपैयाँ खर्च गर्ने गरेको पाईएको हो ।
अध्ययन प्रतिवेदन अनुसार पर्यटकहरुको भारित औसत दैनिक खर्च ८ हजार ३ सय ५५.२९ रुपैयाँ (अमेरिकी डलर ६२.८९) रहेको पाईएको छ । तर, स्वतः स्फुर्त रुपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरुको दैनिक औसत खर्च ७ हजार २ सय १७.३१ रुपैयाँ (अमेरिकी डलर ५४.३२) रहेको पाईएको छ ।

यसरी गण्डकी प्रदेशमा घुम्ने पर्यटकरुको खर्चमध्ये सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत रहेको छ भने बसाईमा २७.६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत देखिएको छ ।

यस्तै उमेर समुहका आधारमा पर्यटकहरुको खर्च गर्ने प्रवृत्ति विश्लेषण गर्दा यस प्रदेशमा आउने पर्यटकहरुमध्ये ४६ देखि ५५ उमेर समुहका पर्यटकहरुको बसाई खर्च, खानपिन खर्च र धार्मिक खर्च क्रमशः ३२.४९ प्रतिशत, २९.२६ प्रतिशत र १.५७ प्रतिशत पाईएको राष्ट्र बैंकको अध्ययनमा देखिएको छ । यो अरु उमेर समूहको भन्दा बढी हो । त्यस्तै, २० बर्षसम्मको उमेर समूहको यातायात खर्च (२४.०७ प्रतिशत) र किनमेल खर्च (९.६५ प्रतिशत) सबैभन्दा बढी देखिएको छ । २१ देखि ३० बर्ष उमेर समूहको पर्यटकहरुको मनोरञ्जन खर्च (१८.०७ प्रतिशत) र अन्य खर्च (३.३५ प्रतिशत) अन्य उमेर समूहको भन्दा बढी रहेको पाईएको छ ।

गण्डकी प्रदेशमा घुम्न आउने पर्यटकहरुमध्ये महादेशका आधारमा खर्चको प्रवृत्ति विश्लेषण गर्ने क्रममा उत्तर अमेरिका महादेशबाट आउने पर्यटकहरुको बसाई खर्च (३०.०६ प्रतिशत) र यातायात खर्च (२६.७६ प्रतिशत) अन्य महादेशको तुलनामा बढी देखिएको छ ।

दक्षिण अमेरिका महादेशबाट आउने पर्यटकहरुको खानपिन खर्च (४०.८८ प्रतिशत), कर (१५.४३ प्रतिशत) र किनमेल खर्च (७.७१ प्रतिशत) अन्यको तुलनामा धेरै देखिएको छ । साथै, मनोरञ्जन खर्च (१५.८ प्रतिशत) मा युरोप महादेश, धार्मिक खर्चमा (२.०२ प्रतिशत) एशिया महादेश र अन्य खर्चमा (१.३ प्रतिशत) अष्ट्रेलिया महादेशबाट आउने पर्यटकहरुको संख्या बढी रहेको पाईएको छ ।

यसरी गरिने खर्चमध्ये पर्यटकहरुले धेरै कारोबार नगदै गर्ने गरेको पनि अध्ययनले देखाएको छ । अध्ययन अनुसार पर्यटकले गर्ने गरेका विभिन्न पर्यटकीय क्रियाकलापका लागि भुक्तानी गर्ने क्रममा ९८.१६ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र १.८४ प्रतिशत पर्यटकले मात्रै कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको पाईएको छ ।
यसैगरी पर्यटकहरुले तिर्ने राजश्वमा पनि सबैभन्दा धेरै ९८.०२ प्रतिशत पर्यटकले नगदकै मार्फत भुक्तानी गर्ने गरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL