काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदका क्रममा ऋण सहयोग गरेका ऋणदातासँग किस्ताको संख्या थपिदिन आग्रह गरेको छ । निगमले कोरोना महामारी र आर्थिक मन्दीका कारण ऋणको सावाँ र ब्याज बुझाउन असहज भएको बताउँदै कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई उक्त आग्रह गरेको हो ।
विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन निगमले दुई ऋणदातासँग आग्रह गरेको हो । यो अवधिको लागि किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाईसकेको छ । हाल यी दुई निकायमा निगमबाट आएको पत्रको उचित छलफल भईरहेको निगमले जानकारी दिएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि दुई निकायलाई बुझाउनुपर्नै ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पुरा र वाइडबडि जहाजकोे आंशिक दायित्व पूरा गरेको छ । जसमा निगमले २०८१ आषाढ ३१ गते जम्मा ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ ।
यस्तै निगमको व्यवस्थापन परिवर्तन भएपछि हालसम्म निगमले आफ्नो ऋण दात्विमध्ये ५ अर्व ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको बताएको छ ।