Logo

नलिञ्चोकमा हेलिकप्टर उडान अवतरण नगर्ने पाइलटहरुको अडान, प्राधिकरणले गठन गर्याे कमिटी

नलिञ्चोकमा हेलिकप्टर उडान अवतरण नगर्ने पाइलटहरुको अडान, प्राधिकरणले गठन गर्याे कमिटी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टर पाइलटका मागहरुलाई सम्बोधन गर्नका लागि कमिटि गठन गरेको छ ।

गत असार ७ गते पर्यटनमन्त्रीले भक्तपुरको नलिञ्चोकमा हेलीपोर्ट उद्घाटन गरी अब त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण नलिञ्चोकबाटै हुने घोषणा गरेका थिए । तर, हेलिकप्टर पाईलटहरु उक्त स्थानमा पूर्वाधार निर्माण भईनसकेको, आवश्यक सुरक्षा व्यवस्था नगरिएको र उडान अवतरणमा पनि समस्या भईरहेको भन्दै रुष्ट हुँदै आएका थिए ।

सोही अनुसार बुधबार हेलिकप्टरका ४७ जना पाईलटहरुले एक विज्ञप्ति जारी गर्दै अब उक्त हेलिपोर्टबाट उडान अवतरण नै नगर्ने घोषणा गरेका छन् ।

सोही कुरालाई मध्येनजर गर्दै प्राधिकरणले १५ सदस्यीय समस्या समाधान कमिटि गठन गरेको हो ।

उक्त कमिटिले काम पनि सुरु गरिसकेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उक्त कमिटिले आगामी एक साताभित्र समस्याको समाधानका लागि आवश्यक सुझावसहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाउने उनले बताए ।

हेलिकप्टरका पाइलटहरुले उक्त पोर्टमा आवश्यक पूर्वाधार र अत्यावश्यक सेवा नहुँदै हेलिकप्टर उडान बाध्य पारिनुले उड्डयन सुरक्षामै जोखिम भएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

उक्त हेलिपोर्ट वरिपरी उच्च भू–भागससहितको अवरोधहरु रहेको, कन्ट्रोल टावर नबनेको, फाइनल एप्रोच टेकअफ प्वाइन्ट साँधुरो भएको, पार्किङ क्षेत्र सानो, इन्धन भर्ने सुविधा नभएको, आपतकालीन सेवा अभाव र साघुँरो क्षेत्रमा हेलिपोर्ट भएको कारण उडानयोग्य नभएको हेलिकप्टरका क्याप्टेनहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL