Logo

३ बर्षमै नेपाल एयरलाईन्सको आम्दानी दोब्बरले बढ्यो, गत बर्षमात्रै २२ अर्ब २४ करोड आम्दानी

३ बर्षमै नेपाल एयरलाईन्सको आम्दानी दोब्बरले बढ्यो, गत बर्षमात्रै २२ अर्ब २४ करोड आम्दानी



काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो आम्दानी दोब्बरभन्दा बढीले बढेको बताएको छ । कम्पनीले पछिल्लो ३ बर्षमा मात्रै १४४ प्रतिशतले आफ्नो आम्दानी बढेको जानकारी दिएको हो ।

निगमले गत आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी थियो । यो आम्दानी अघिल्लो आव २०७७/७८ को तुलनामा भने भने साढे दुई गुणा अर्थात् १३ अर्ब १३ करोड रुपैयाँले बढी हो । महालेखा परीक्षकको लेखापरिक्षण प्रतिवेदन अनुसार आव २०७७/७८ मा निगमको कुल आम्दानी ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि हुन्छ । निगमले आव अघिल्लो २०७८/७९ मा पनि १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । निगमले पछिल्लो तीन वर्षमै आम्दानी उल्लेख्य रूपमा बढाउँदै गएको देखिन्छ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गर्ने निगमले जनाएको छ ।

विगत आठ वर्षदेखि निगमसँग अन्तरराष्ट्रियतर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा रहेका छन् । अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्