Logo

सिक्लेसमा बढ्दै पर्यटक आवागमन, व्यवस्थापनको चिन्ता

सिक्लेसमा बढ्दै पर्यटक आवागमन, व्यवस्थापनको चिन्ता



काठमाडौं । मङ्सिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका–१ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए । पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र चर्चा कमाएको सिक्लेस सञ्चारमाध्यममा सुनेका उनीहरुको उद्देश्य सिक्लेसमै पुुगी त्यहाँको वातावरण प्रत्यक्ष अवलोकन गर्नु थियो । मोटरसाइकलमार्फत यात्राको तय गरेका उनीहरुलाई घरबाट निस्कँदा कतै भीडभाडका कारण बस्ने ठाउँ नै पाइँदैन की भन्ने चिन्ता पनि थियोे ।

त्यसै चिन्ताले यात्राकै क्रममा त्यहाँका होमस्टे सञ्चालकलाई फोन गरी आफूहरू आउन लागेको जानकारी गराएको भ्रमणटोलीका सदस्य कमलप्रसाद पौडेलले बताए । ‘बाटोबाटै फोन गरिएका कारण हामीलाई त्यहाँ पुुगेर बस्न र खान धेरै सजिलो भयो’, स्थानीय चण्डी माध्यमिक विद्यालयका शिक्षक रहनुभएका उनले भने, ‘त्यो दिन सिक्लेस पुुग्नेको ठूूलै उपस्थिति थियो, स्थानीयवासीलाई व्यवस्थापन गर्न हम्मेहम्मे देखिन्थ्यो ।’

आफूहरू पनि पहिलोपटक सिक्लेस पुुगेको बताउँदै पौडेलले सञ्चारमाध्यम एवम् विभिन्न सामाजिक सञ्जालमा सुनेको भन्दा पनि अझै रमणीय स्थान भएको बताए । सिक्लेस जाने बाटो ठाउँ ठाउँमा निर्माणकै क्रममा रहेका कारण दुुईपाङ्ग्रे सवारीसाधनमार्फत जाँदा होसियारीपूर्वक नै जानुपर्ने उनको सुुझाव थियो । पर्यटकीय गाउँ र ठाउँलाई आन्तरिक रुपमा पनि प्रवद्र्धन आवश्यक भएको पौडेलले उल्लेख गरे ।

उनले भनेजस्तै बढ्दो पर्यटकको आगमनले यहाँका पर्यटन व्यवसायी ठूलो सङ्ख्यामा आउन थालेकाले तिनको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छन् । विगतका वर्षमा कोरोनाको महामारीले लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न भागबाट पर्यटक आउन थालेसँगै यहाँको चहलपहल ह्वात्तै बढेको हो । सिक्लेसमा गाउँमाथिका पदमार्ग क्षेत्रकासमेत गरी ४१ वटा होटेल सञ्चालनमा आइसकेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।

होटेलका साथै यहाँका झण्डै दुुई दर्जन सङ्ख्याका घरवास९होमस्टे०ले यहाँ दैनिक रुपमा पर्यटकलाई खाने बस्ने सुविधा दिइरहेका छन् । आफ्नो मौलिक कला, संस्कृति तथा मनोरम प्रकृतिका कारण सिक्लेसले स्वदेशी एवम् विदेशी पर्यटकलाई लोभ्याउने गरेको उनले बताए । सिक्लेस समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा छ । वरिपरि हरियो वनजङ्गल रहेको यो गाउँमा चरा र वन्यजन्तुप्रेमी पनि रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ ।

पछिल्ला समयमा पर्यटकको आगमनले यहाँको पयर्उटन राम्रै प्रवद्र्धन भएको उल्लेख गर्दै वडाध्यक्ष गुुरुङ आगामी दिनमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले आँफूहरूलाई सचेत गराएको बताए । ‘पर्यटकको आगमनलाई लक्ष्य गरी यहाँको प्रकृति, संस्कृति र मौलिकता समेतको संरक्षण गर्दै उचित व्यवस्थापन गर्नुु जरुरी छ’, उनले भने, ‘बढ्दो पर्यटकको आगमनमा समेत यहाँको सरसफाइ, प्राकृतिक एवम् सांस्कृतिक मौलिकता जोगाउन आजैदेखि लाग्नुु अपरिहार्य देखिएको छ ।’

लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो । सिक्लेसमा ढुङ्गाले छाएको तथा ढुङ्गा छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर बस्ती छन् । सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर, चोकमा प्लास्टिक एवम् कागज केही नभेटिनु यहाँको विशिष्टता हो । यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । कला र संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिलि, हेकुचे, घुर्राजस्ता प्रतियोगिता समेत गराउने गरिएको छ ।

संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा ९रेँका०, बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो र गुन्द्री उत्पादन आदिले पनि यहाँको मौलिकता बचाएको छ ।

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर पनि एक दिनमा पुग्न सकिन्छ । त्यसैले गुरुङ जातिको अध्ययन अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशीसमेत सिक्लेस जाने गरेका छन् । त्यहाँ रहेको सिक्लेस ईको म्युजियम पनि दर्शनीयस्थलका रुपमा विकास भएको छ । सङ्गहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री राखिएको इको म्युजियम व्यवस्थापन समितिका अध्यक्ष हुमकुमारी गुरुङले बताए ।

सङ्ग्रहालयमा आउने पर्यटकले हिमाली जीवन र संस्कृतिसँगै विभिन्न जडीबुटी आदिबारे पनि जानकारी लिन पाउँछन् । त्यहाँ आउने पर्यटकले गुरुङ पहिरन लगाएर तस्बिर खिच्ने गर्दछन् । संङ्ग्रहालयको व्यवस्थापनका लागि विदेशी पर्यटकसँग १ सय ५०, अन्य सर्वसाधारणसँग एक सय र विद्यार्थीसँग ३० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको उहाँको भनाइ थियो । सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् ।

सिक्लेसबाट कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । वडाध्यक्ष गुुरुङका अनुसार सिक्लेसबाट कफुचे, कोरीसम्मको पदयात्रा मार्गलाई केटुु पदमार्गका रुपमा विकास गर्ने सोच राखिएको छ । यस पदमार्ग क्षेत्रका कफुचे, होगुँ, कोरी, पासाँलगायत स्थानमा होटेलपनि सञ्चालनमा आएको उनले जानकारी दिए ।

सिक्लेसबाट पहिलो दिन कफुचे हिमताल पुुगेका पर्यटक दोस्रो दिन कोरी र तेस्रो दिन पुनः सिक्लेस फर्कन सक्ने अध्यक्ष गुरुङले बताए । ‘सिक्लेसबाट तारहिलटप हुँदै तिइँ, कफुचेसम्मको नयाँ पदमार्ग समेत विकास गर्ने हाम्रो सोच छ’, उनले भने, ‘पदयात्राका क्रममा उक्त मार्गबाट देखिने धवलागिरिदेखि मनास्लु हिमशृङ्खलासम्मका दृश्यलाई एकसाथ अवलोकन गर्न पाउनु यहाँको विशिष्टता हो ।’

यस पदमार्गलाई मादी गाउँपालिका वडा नं ६ को थाक हिल, चिप्ली, मादीकै वडा नं १ को सिलाङ गाउँका साथै घलेखर्कबाट पनि जोड्न सकिने उनले जानकारी दिए ।गुराँसै गुराँसले भरिएका यस पदमार्ग गुराँस फुल्ने समयमा अझै मनमोहक देखिने अध्यक्ष गुरुङले बताए । पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेस जान काहुँ खोलामा जीप सहज रुपमा नै उपलब्ध हुन्छन् ।

नेपालको १२ वर्षे द्वन्द्व अन्त्यका लागि तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा (माओवादी)का नेता पुष्पकमल दाहाल पहिलो पटक यही सिक्लेसबाट सार्वजनिक बनेकाले यो शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा चित्रित भएको छ । गाउँपालिकाले यही गाउँमा शान्ति स्मारकसमेत निर्माण गरिसकेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL