Logo

त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निगमले नै पाउनुपर्छ : वायुसेवा निगम

त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निगमले नै पाउनुपर्छ : वायुसेवा निगम



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निरन्तर रहेको निगमले जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विमानस्थलमा प्रदान गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा आफुबाट नखोसिएको बताएको हो ।

यसअघि अब खुला प्रतिश्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ सेवाको टेण्डर आह्वान गर्ने कुरा बाहिर आएको थियो । यसरी खुला प्रतिश्पर्धाबाट अन्य कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा निगमबाट भने खोसिएको समाचारहरु सार्वजनिक भएका थिए । निगमले यस्ता समाचारमा सत्यता नभएको बताउँदै विमानस्थलमा सेवा प्रदान गर्ने प्रक्रियामा थप विकास गरिरहेको जानकारी दिएको छ ।

निगमको स्थापना कालदेखि नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आइरहेको र उक्त सेवालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानी गर्दै आइरहेको छ । ग्राउण्ड ह्याण्डलिङ सेवा आयटाको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रमाणित भएकोले निगमले सोही अनुसार उपकरण र दक्ष जनशक्ति तयार गरेको छ । त्रि.अ. वि. को अलवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउण्ड ह्याण्डलिङ गर्न अनुमति पाएको कारण यस क्षेत्रमा जनशक्ति लगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेको अवस्था छ । यसबाट पनि निगमले हाल अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्षम रहेको प्रमाणित भएको निगमको भनाई छ ।

यसअघि विभिन्न संचारमाध्यममा नेपाललाई इयुले कालोसूचीबाट नहटाएको प्रमुख दोष नेपाल वायुसेवा निगमलाई जाने भन्दै समाचार पनि सम्प्रेषण भएका थिए । यस्तै समाचारबाट प्रभावित भएर ग्राउन्ड ह्यान्डलिङ सेवामा पनि त्यस्तै भावले समाचार सम्प्रेषण भएको निगमको बुझाई छ । अतः खुला प्रतिश्पर्धाबाटै जिम्मेवारी दिने निर्णय भएपनि निगमले नै जिम्मा पाउनुपर्ने धारणा निगमको छ ।

गएको आईतबार बसेको निगम कार्यकारी समितिको वैठकबाट र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनको मिति २०८०/८/१९ को वैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ गर्नु पर्ने कुरामा एकतावद्ध रही दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

यसैको निरन्तरताको लागि लगानीको सुनिश्चितता, त्रि.अ.वि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुुरक्षा समेतको लागि नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमले नै निर्वाध रुपमा ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्नु पर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको निगमले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL