काठमाडौं । अग्रेजी नयाँ वर्षदेखि ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ संचालनमा आउने भएको छ । काभ्रेका स्थानीय सफल युवा व्यवसायी लक्ष्मण न्यौपानेको नेतृत्वमा काभ्रेको बल्थलीमा उक्त रिसोर्ट संचालनमा ल्याउन लागिएको हो ।
कुल २० करोड रुपैयाँको लगानीमा संचालनमा ल्याउन लागिएको उक्त रिसोर्टमा हाल २० लक्जरी रुम सहित आफ्नै कम्पाउण्डमा अर्गानिक खेती गरिएको छ । रिसोर्टले पहिलो चरणमा पर्यटकलाई अर्गानिक खाना सहितको बसोबास उपलब्ध गराउने छ । ‘हामीले विशेषगरी अर्गानिक खानालाई प्राथमिकता दिँदै रिसोर्टभित्रै सोही अनुरुपका तरकारीहरु उत्पादन शुरु गरेका छौं भने स्थानीय स्तरबाटै लोकल कुखुरा, कालिज, खसी, बोका लागि उपलब्ध गराउनेछौं,’ उक्त रिसोर्टका अध्यक्ष न्यौपनोले भने, ‘विशेषगरी उक्त रिसोर्टमा आउने पाहुँनाहरुले अर्गानिक खानाका साथै पारिवारिक मज्जा लिन सक्नुहुनेछ ।’
कुल २० करोड लगानीमा संचालनमा आउन लागेको उक्त रिसोर्टमा ७० जना क्षमता भएको सेमिनार हल, स्वीमिङ पुल आदि संचालनमा ल्याईने छ । ‘हामीले उक्त रिसोर्टलाई सन् २०२४ को जनवरीबाटै संचालनमा ल्याउनेगरी निर्माणकार्य अन्तिम चरणमा पुर्याएका छौं,’ उनले भने, ‘तत्कालका लागि हामीले २० लक्जरी रुमबाट संचालनमा ल्याउने छौं भने केही समयभित्रै थप ३० रुम थपिनेछ ।’
काठमाडौंबाट ४० किलोमिटरको दुरीमा रहेको उक्त रिसोर्टमा पारिवारिक जमघट तथा सेमिनार गर्नका लागि उपयुक्त हुनेछ । उक्त रिसोर्टमा आगन्तुकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वीमिङ पुलका साथै स्टिम, साउना, ज्याकुजीको समेत सुविधा उपलब्ध हुनेछ । ठूलो मात्रामा पार्किङ सुविधा रहेको उक्त रिसोर्टले बालबालिकालाई आकर्षित गर्न २० रोपनी जग्गामा चिल्ड्रेन पार्क र फार्म हाउस स्थापना गरेको छ ।
अध्यक्ष न्यौपानेका अनुसार उक्त रिसोर्टबाट बेलुकाको सुर्याअस्तका साथै बिहानको सुर्योदयको समेत मज्जा लिन सकिनेछ । साथै रिसोर्टले हिमालयको दृश्यावलोकन गर्न आगन्तुकलाई उच्च क्षमताको टेलिस्कोप समेत उपलब्ध गराउने छ । उक्त टेलिस्कोपबाट खगोलसम्बन्धी अध्ययन गर्ने विद्यार्थीलाई समेत फाइदा पुग्नेछ । साथै उक्त रिसोर्टबाट नमोबुद्ध, महाभारत रेञ्जको सबैभन्दा अग्लो स्थान नारायणथान, तिनधारे झर्ना, कामीडाँडा लगायत अन्य गुम्बा र बौद्ध स्तुपाको भ्रमण तथा हाईकिङ गर्न सकिनेछ ।
उक्त रिसोर्ट संरक्षित क्षेत्रमा रहेकाले दुर्लभ बन्यजन्यतु सालकका साथै जरायो, मृग, दुम्सी, बँदेल, खरायो, चितुवा, कालिजलगायतका बन्यजन्तु तथा चराचुरुङ्गी हेरेर आनन्द लिन सकिनेछ । अपाङमैत्री उक्त रिसोर्टलाई वातावरणमैत्री समेत बनाईएको छ । रिसोर्टले त्यहाबाट निस्कने फोहोर तथा पानीलाई ढलमा नमिसाई आधुनिक प्रविधिबाट रिसाईकल गरी पुनः प्रयोगमा ल्याउने विधी समेत जडान गरिएको न्यौपानेले जानकारी दिए ।