Logo

सोट्टोद्वारा सुन्दरीजलदेखि धाप ड्यामसम्म पदयात्रा सम्पन्न, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

सोट्टोद्वारा सुन्दरीजलदेखि धाप ड्यामसम्म पदयात्रा सम्पन्न, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड



काठमाडौं । सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजलदेखि सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा–२०८० गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सोट्टो–नेपालले सरकारका विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंदेखि सिन्धुपाल्चोकसम्मको गन्तव्यलाई उजागर गर्ने काम गरेको हो ।

२७ सेप्टेम्बरमा पर्ने ४४ औं विश्व पर्यटन दिवसको अवसर पारेर सोट्टो नेपालले गोकर्णेश्वर नगरपालिका र मेलम्ची नगरपालिकासँगको सहकार्यमा पदयात्रा गरेको हो । पर्यटनमा पर्यावरणमैत्री(हरित) लगानी नारा रहेको यसपालीको विश्व पर्यटन दिवसको अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रका सम्पदाहरुको अध्ययन, अवलोकनसँगै सुन्दरीजल–मुलखर्क–धाप ड्याम हुँदै प्रकृति रिसोर्ट हैबुङमा पुगेर पदयात्रा सम्पन्न भएको हो ।

राजधानी काठमाडौबाट नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका विविधताको मनोरम दृष्यसँगै पदयात्रा गरिएको हो । आवश्यक प्रचार प्रसारको अभावमा यो क्षेत्र पर्यटकीय दृष्टिले अझै ओझेलमा रहेको छ भने काठमाडौंको व्यस्त दैनिकिबाट केही समयका लागि आनन्द लिन जो कोहीलाई पदयात्रा सफलीभुत हुने सोट्टो नेपालका अध्यक्ष भुवनबहादुर पाण्डेले बताए । राजधानीबाट नजिक रहेको गन्तव्यलाई प्रवद्र्धन गरेर आन्तरिक पर्यटक बढाउँदै स्थानीयलाई अधिकत्तम लाभ दिने योजनाअनुरुप सोट्टोले हरेक वर्षजस्तै गरी यो वर्ष पनि पदयात्रालाई निरन्तरता दिएको अध्यक्ष पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डसहितको सहयोगमा संस्थाले हरेक वर्ष आन्तरिक पर्यटन प्रवद्र्धन र स्थानीयलाई फाइदा दिने विविध कार्यक्रम गरिरहेको जानकारी दिएका छन् ।

पर्यटनको दीगो संरक्षण, प्रकृति प्रदुषण कम गर्दै स्थानीयलाई जागरुकतासँगै रोजगारी, प्रकृति र संस्कृतिको जगेर्ना, पाहुनालाई भगवान् सरहको आतिथ्य सत्कारसहित पर्यटन प्याकेज विकास गर्न सोट्टो–नेपाल लागिपरेको अध्यक्ष पाण्डेले बताए ।

पदयात्रा समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक बिविधताले भरिपूर्ण रहेकाले संघ, प्रदेश सरकारलाई बजेट बढाउन आग्रह गर्दै व्यवसायीलाई लगानी बढाउन आग्रह गरे ।
नगरका १३ वडा मध्ये ५ वडालाई पर्यटन प्रवद्र्धनका लागि नमूना वडाका रुपमा छनौट गरेको जानकारी दिँदै प्रमुख तामाङले नगर भित्र आउने लगानीको सुरक्षा दिन आफूहरु तयार रहेको उनको भनाई थियो । पालिकाकी उपप्रमुख उमा प्रधानले लुकेछिपेका प्रसिद्ध पर्यटकीय स्थलको उजागर गर्ने सोट्टो नेपालको काम सह्राहनीय रहेको ताईन् । काठमाडौंबाट नजिक रहेका यस्ता गन्तव्य प्रचारप्रसारको पर्खाइमा रहेको भन्दै ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रवद्र्धन गरेर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने कार्य गर्न सबैको समन्वय आवश्यक रहेको उपप्रमुख प्रधानको भनाइ छ । पदयात्रा कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु, पर्यटन कार्यालयका प्रतिनिधिसहित १ सय भन्दा बढी व्यवसायी, सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ । तर भएका स्रोत र साधनको उचित प्रचार प्रसार र प्रवद्र्धन हुन नसक्दा सबै ओझेलमा परेको भन्दै सोट्टो नेपालले हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा पदयात्रा कार्यक्रम गर्दै आएको छ । सम्पदाहरु ओझेलमा पर्दा एकातिर नेपालीहरु गाउँमै रोजगारी पाउनबाट वञ्चित हुनुपरिरहेको छ भने अर्कातिर आयआर्जन पनि हुन नसकिरहेको यथार्थलाई मनन गर्दै सोट्टोले देशका कुना कन्दरामा पुगेर आन्तरिक पर्यटनको प्रचार प्रसार र प्रवद्र्धनसँगै तिनीहरुको उजागर गर्ने काम गरिरहेको छ । मुगुमा अवस्थित रारा तालको प्रवद्र्धन सोट्टोले आजसम्म गरेकोमध्ये सबैभन्दा सफल प्रबद्र्धनात्मक कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्