Logo

पोखरालाई पर्यटनको ट्रान्जिट बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड, सुधारमा ध्यान दिन आग्रह

पोखरालाई पर्यटनको ट्रान्जिट बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड, सुधारमा ध्यान दिन आग्रह



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले ‘पोखरालाई ट्रान्जिट प्वाइन्टका रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका हुन् । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि पोखरा केन्द्रविन्दू हुनसक्ने उनको भनाई छ ।

अन्तरराष्ट्रिय हवार्इ अड्डामा सरकारले धेरै ठूलो लगानी गरेको जानकारी दिँदै उनले पर्यटन प्रवद्र्धनका लागि देशले लगानी गरेको कुरालाई जोड दिए । पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने बताउँदै उनले धेरैजसो माग र निर्णय भावनामा बगेर गर्न नहुने बताए । ‘भावनामा बगेर गरेको लगानीबाट प्रतिफल कसरी लिन सकिन्छ भन्ने चुनौति सरकारसँग रहेको उनको भनाई छ ।

‘युद्ध, भुकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तरराष्ट्रिय मन्दीबाट हामी गुज्रिएकाले राजश्वमा ठूलो प्रभाव पर्याे र अर्थतन्त्रमा शिथिलता देखिएको छ,’ उनले भने, ‘भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ठ किसिमले देखियो ।’ सबैजना आ–आफ्नो ठाउँबाट गुज्रिन जरुरी रहेको बताउँदै उनले आफ्नो जिम्मेवारीप्रति सबैजना गम्भीर हुन आग्रह गरे ।

समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने मन्त्री डा. महतको भनाइ थियो । सबैले सकारात्मक सोच राख्ने हो भने अर्थतन्त्र पनि सकारात्मक बाटोतर्फ उन्मुख हुन्छ,’ उनले भने, ‘पोखरा पर्यटन व्यवसायको हब हो, यसलाई कसैले बिगार्न सक्दैन । यसको भविष्य दीगो छ । थोरै समस्या आयो भन्दै हामीले निराशाको कुरा गर्ने हो भने यसले राम्रो गर्दैन ।’

पूँजीगत खर्च प्रभावकारी ढंगबाट कार्यान्वयन गरिनेछ । ठेक्का समयमा लगाइने । ठूलठूला आयोजनाबाहेक सरकारले तीन वर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउँछ । यसबाट पूँजी प्रभाव हुने मन्त्री डा. महतले बताए ।

‘भनेजस्तो पर्यटकको आगमन भएको छैन, बाटोको समस्या, छ । एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पृथ्वी राजमार्ग समयमै स्तरोन्नति भइसक्नुपर्ने थियो’ मन्त्री डा. महतले भने, ‘यसलाई सरकारले गम्भीरताका साथ लिएको छ । बाटो राम्रो हुनेवित्तिकै आन्तरिक पर्यटनमा वृद्धि हुनेछ ।’

अन्तरराष्ट्रिय पर्यटक वृद्धिका लागि हवाई यातायात महत्वपूर्ण रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL