Logo

भैरहवाको टाइगर प्यालेस अब हिमालयन टाइगर इन्भेष्टमेन्टको हातमा, बाहिरियो अष्ट्रेलियन लगानीकर्ता

भैरहवाको टाइगर प्यालेस अब हिमालयन टाइगर इन्भेष्टमेन्टको हातमा, बाहिरियो अष्ट्रेलियन लगानीकर्ता



काठमाडौं । भैरहवास्थित तिलोत्तमामा बन्द अवस्थामा रहेको टाइगर प्यालेस रिसोर्ट अव हिमालयन टाइगर इन्भेष्टमेन्टले संचालन गर्ने भएको छ । कोभिड महामारी र अन्य व्यवस्थापकिय झमेलाका कारण बन्दप्राय रहेको उक्त रिसोर्ट हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले संचालन गर्ने भएको हो ।

हालसम्म अष्ट्रेलियन लगानीकर्ताको हातमा रहेको उक्त रिसोर्टको सम्पुर्ण स्वामित्व गैरआवासीय नेपालीहरुले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण भएको हो ।

गैरआवासीय नेपालीहरूले अमेरिकामा खडा गरेको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको सेयर खरिद गरेवापतको कर सरकारलाई नदिएको भन्दै विरोधसमेत भईरहेको थियो ।

तर, उक्त कम्पनीको सेयर आफ्नो स्वामित्वमा ल्याएपछिको कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानूनले दिएको म्यादभित्र तिर्ने कम्पनीले जानकारी दिएको छ । टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धी सुवेदीले अष्ट्रेलियामै सेयर खरिद विक्री गर्दा नेपालमा लाग्ने कर तिर्न तयार रहेको बताएका हुन् ।
अष्ट्रेलियन लगानीकर्तासहित उक्त रिसोर्ट सिल्भर हेरिटेज ग्रुपले संचालन गर्दै आईरहेको थियो । करिव ५ अर्ब लगानीसहित संचालनमा आएको रिसोर्ट

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेपछि विदेशमा भएका गैर आवासीय नेपालीहरुले मिलेर यो रिसोर्टको सेयर खरिद गरेका हुन् ।

यो परियोजना सफल रुपमा सञ्चालन हुँदा गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुने बताइएको छ ।
यस्तै टाइगर प्यालेस रिसोर्ट पूर्णरुपमा संचालन हुँदा एक हजार भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने, नेपाल सरकारले पाउने राजस्व वृद्धि हुनुको साथै पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको संचालक सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्