Logo

ढोरपाटन पुगे नौं हजार पर्यटक, घोडा सफारी र होटल व्यवसायसमेत फस्टाउँदै

ढोरपाटन पुगे नौं हजार पर्यटक, घोडा सफारी र होटल व्यवसायसमेत फस्टाउँदै



काठमाडौँ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९-८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको एक मात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गएको छ ।

ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको संख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्याङ्कलाई व्यवस्थित गर्दैगएको छ । गत आवमा छ हजार बढी जनाले ढोरपाटनको अवलोकन गरेकामा चालु आवको अन्त्यसम्म त्यो सङ्ख्या बढेर दोब्बर पुग्ने देखिएको छ ।

ढोरपाटन शिकार आरक्षको तथ्याङ्कअनुसार आरक्ष अवलोकनका लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागि समेत पर्यटक आउने गरेका छन् ।

विदशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि समेत त्यहाँ पुग्न थालेका छन् । वैधानिकरुपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । सूचना अधिकारी पङ्गेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएकामा दुई वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्न थालिएको छ ।

विदेशी पर्यटकलाई प्रवेश शुल्क नियमअनुसार छ भने नेपालीलाई प्रतिव्यक्ति रु एक सय छ । आव २०७७-७८ मा छ हजार सात सय तीन स्वदेशी र विदेशी पर्यटक आरक्ष क्षेत्रमा आएका थिए भने चालु आव २०७८-७९ मा नौ हजार नौ सय १९ पर्यटक शिकार आरक्ष क्षेत्रमा आइसकेका छन् । यो वर्ष १२ हजारको हाराहारीमा पर्यटक पुग्ने पङ्गेनी बताउँछन् ।

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७-७८ आन्तरिक पर्यटकले समेत रु एक सय प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । आव २०७२-७३ मा ९१, आव २०७३-७४ मा एक सय ३९, आव २०७४-७५ मा एक सय १९, आव २०७५-७६ मा चार सय ८० तथा आव २०७६-७७ मा तीन सय २० विदेशी पर्यटक यहाँ घुम्न आएका थिए ।

यस्तै ढोरपाटन आउने पर्यटकको संख्यामा वृद्धि भएसँगै राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । आरक्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०-७१ मा रु चार लाख १० हजार, आव २०७६-७७ मा रु छ लाख ६८ हजार, आव २०७७-७८ मा रु २० लाख २२ हजार तथा चालु आवको हालसम्ममा रु २२ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ ।

शिकार खेल्नका लागि बुझाएको राजस्व भने सिधै वन्यजन्तु विभागमा जम्मा हुने आरक्ष कार्यालयले जनाएको छ । ढोपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । नाउर र झारलको वैधानिक शिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकले लाखौँ खर्च गरेर शिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकले शिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् ।

हरियाली ढोरपाटन उपत्यकाले त्यहाँ पुगेका पर्यटकलाई नलोभ्याउने कुरै छैन । अहिले ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रामा पुग्ने गरेको छ तर पुस माघको बाक्लो हिमपात र साउन भदौमा भारी वर्षा हुँदा बाहेक अघि पछि पर्यटकको अभाव भने ढोरपाटनलाई पर्दैन तर यस पटक भने ढोरपाटनमा हिमपात नहुँदा पर्यटकको आगमनमा अवरोध नखाएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्तीमगरले बताए ।

‘हिमपात हुँदा त यहाँ पर्यटकको आगमन ठप्प हुन्छ, अहिले हिमपात नभएकाले पर्यटकको आगमन राम्रो छ’, घर्तीमगरले भने, ‘ढोरपाटनमा शिकार खेल्न विदेशी पर्यटक आए पनि घुम्नका लागि भने नेपाली पर्यटक धेरै आउने गरेका छन् ।’ यस वर्ष ढोरपाटनमा हिमपात नभएको बताउँदै हिमपातका कारण रोकिने पर्यटकलाई भने सहज बनाएको बताए । विसं २०४४ बाटै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो एक दशकयता मात्रै सडक सञ्जालको विस्तारसँगै आन्तरिक पर्यटक आउन थालेका हुन् ।

बागलुङ, म्याग्दी र पूर्वी रुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ वटा साना ठूला होटल तथा घरबास सञ्चालनमा आएका छन् ।

शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकप्टरमार्फत हिमाली क्षेत्रमा पुग्ने भए पनि अन्य विदेशी र आन्तरिक पर्यटक शिकार आरक्ष कार्यालय क्षेत्र रहेको उपत्यका घुम्न आउने गरेका छन् । पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा पछिल्लो समय घोडा सफारी र होटल व्यवसायसमेत फस्टाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्