काठमाडौं । चनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको ४ उडान गर्नेछ ।
सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार दिउँसो सवा ३ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रातिको ९ बजे अवतरण गर्नेछ ।
नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९ सय ९९ र काठमाडौंदेखि नारिता सम्म एकतर्फी भाडा ६५ हजार ९ सय ९९ रुपैयाँ रहेको जानकारी दिएको छ ।
यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र ७ः केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले, लामो समय ट्रान्जिटमा बस्नु नपर्ने भएको छ ।
नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ ।