Logo

हिमालय ट्राभल मार्टको चौथो संस्करण जुन ६ देखि ९ सम्म आयोजना हुने

हिमालय ट्राभल मार्टको चौथो संस्करण जुन ६ देखि ९ सम्म आयोजना हुने



काठमाडौं । आगामी जुन ६ देखि ९ सम्म हिमालय ट्राभल मार्टको चौथो संस्करण आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तराष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको विशेष सहयोग तथा सहकार्यमा उक्त संस्करणको आयोजना हुन लावगेको हो ।
सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट आयोजना हुँदै आएको हिमालय ट्राभल मार्ट कोभिड–१९ महामारीका कारण सन २०१९ पश्चात आयोजना हुन नसकेको थिएन ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई मार्टमा सहभागी भई पर्यटन व्यवसाय लाई पुनरुत्थान गर्न र नेपाललाई महामारी पछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग गर्न आमन्त्रण गरेका छन् । उनले भने, ‘कोभिडले विश्वव्यापी रुपमा यात्रा र पर्यटन उद्योगमा नराम्रो असर पारेको छ । नेपाल पनि यसमा अपवाद रहेन । यद्यपि, पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा हिमालयन ट्राभल मार्टको आयोजनाले नेपाल लगायत समग्र हिमालयन क्षेत्रकै पर्यटन पुनरुत्थान र प्रवर्धन पहलहरूलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण अवसर प्रदान गर्ने बिस्वाश लिएका छौं ।’

मार्टकै पूर्वसन्ध्यामा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुधन किराँतीले विश्वभरबाट आउने अतिथिहरुलाई निमन्त्रणाका साथै शुभकामना सन्देश दिएका छन् । मन्त्री किराँतीले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी भई नेपालले प्रदान गर्ने जीवन्त अनुभवहरुको अनुभूति लिन तथा कोभिड पछिको पर्यटन पुनरुत्थानमा आवश्यक साथ, सहयोग र सहकार्यका लागि आव्हान गरेका छन् ।

उनले भने, ‘हामी निकट बिगतका महामारी र अन्य विभिन्न समस्याहरुबाट क्षतविक्षत भएको पर्यटन क्षेत्रको पुननिर्माणको संघारमा रहेका छौँ । हामी हाम्रा जोखिमसँग जुधेका प्रेरणादायी कथाहरु र सुरक्षित पर्यटन गतव्य भएको कुरा बोकेर हाम्रा पाहुनाहरुको विश्वास र मन जित्दै नेपाललाई सर्वोत्कृष्ट एवं सुरक्षित गन्तव्यको रुपमा स्थापित गर्ने दृढताका साथ हामी अब पर्यटनको भविष्यको पुनर्निर्माण गर्न दत्तचित्त भएर लागिपरेका छौँ ।’

देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरिका, अष्टे«लिया, न्यूजिल्याड, एसिया, सिआईएस राष्ट्रहरु, एशिया र अरब राष्ट्रका विश्वब्यापी क्रेताहरुलाई एउटा मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार, ज्ञान तथा सिप आदान–प्रदान गर्ने एक अद्धितीय मञ्च तथा एउटा विशेष लोकप्रिय बीटुबी कार्यक्रम हो ।

नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशको द्धार’, साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटन मैत्री गन्तब्यको बलियो ब्रान्डका रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ आयोजना हुने हिमालयन ट्राभल मार्ट नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको छ । मार्टले अति छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरेको छ र धरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्