Logo

बजेट अभावमा ‘एभिन रोडार’ जडान अन्यौलमा, चरा र वाँदर धपाउन गुलेलीको साहारा

बजेट अभावमा ‘एभिन रोडार’ जडान अन्यौलमा, चरा र वाँदर धपाउन गुलेलीको साहारा


रक्षा रेग्मी
0
Shares

काठमाडौं । त्रिभुवन विमानस्थल आसपासमा एभिन रोडार(चरा धपाउने) मेसिन जडान गर्ने योजना अन्यौलमा परेको छ ।  मेसिन जडानका लागि आवश्यक बजेट उपलब्ध नभएपछि जडानको काम अघि नबढेको विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए । ‘एभिन रोडार जडान गर्न कम्तिमा ३५ करोड आवश्यक पर्छ,’ उनले भने, ‘हामीसँग १६ करोड रुपैयाँ मात्र उपलब्ध छ ।’ नागरिक उड्डयन प्राधिकरणसँग बजेट उपलब्ध गराउन आग्रह गरेको उनले जानकारी दिए । उपाध्ययका अनुसार हाल प्राधिकरणसँग त्यसबारे छलफल भइरहेको छ ।

तत्कालिन महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले चालु आर्थिक बर्षभित्र सो मेसिन जडान गर्ने गरी प्रक्रिया शुरु गरेका थिए । रोडार खरिदका लागि आवश्यक विवरण सहितको प्रस्ताव सम्वन्धित निकायमा पुर्याइसकेका थिए । तर, हालसम्म रोडार जडानका लागि आवश्यक बजेट उपलब्ध नभएकाले काम अघि नबढेको महाप्रवन्धक उपाध्यायले जानकारी दिए । आवश्यकता अनुसार बजेट स्वीकृति हुने वित्तिक रोडार खरिद प्रक्रिया सुरु गर्ने उनले बताए ।

टीआइएले उडिरहेका विमानसँग चरा ठोक्किएर विभिन्न समयमा भएको दुर्घटनालाई दृष्टिगत गर्दै नयाँ प्रविधि जडान गर्न लागेको हो । ‘विमान अवतरण तथा उडानका क्रममा चराचुरुङगीबाट हुनसक्ने खतराबाट बच्न नयाँ प्रविधि भित्र्याउन लागेका हौं,’ उनले भने ।

सो रोडारको मद्दतले विमानस्थल वरिपरिका चराका साथै बाँदर धपाउन र तिनीहरुका गतिविधि थाहा पाउन सकिन्छ ।

कसरी काम गर्छ एभिन रोडारले

विमानस्थलमा एभिन रोडार प्रयोग गर्ने प्राविधिकहरु खटाइन्छ ।  प्राविधिकहरुले सो रोडारबाट प्राप्त सूचना पहिले नै विमान चालकलाई उपलब्ध गराउछ । विमान चालकले विमान अवतरण वा उडान भर्नु आगावै विमानस्थलमा चरा तथा बाँदर रहे नरहेको थाहा पाउने भएकोले दुघर्टना रोक्न मद्धत गर्छ ।

सो रोडारले विमानस्थलको १७ किलोमिटर वरपर रहेको चराचुरुङगी तथा बाँदरको गतिविधिको  सूचना दिन्छ । सो मेसिनमा क्यामेरा पनि जडान गरिएको हुन्छ । जसले  कस्तो प्रकारको चरा कुन दिशा तिर गएको छ भन्ने बारे जानकारी दिन्छ ।

विभिन्न एयरलाइन्स कम्पनीहरुले गुनासो गरेपछि यो प्रविधि भित्र्याउन लागिएको हो । परम्परागत उपायबाट विमानस्थलमा चरा, बाँदर तथा मुसाबाट बच्न नसकिएकाले सुरक्षाका लागि नयाँ उपाय अपनाउन लागिएको हो ।

चरा तथा बाँदर धपाउन ६ सिकारी

हाल विमानस्थलले चरा तथा बाँदर धपाउन सुरक्षाका लागि हतियार सहितका सिकारी परिचालन गरिएको छ । विमानस्थलले चरा धपाउनकै लागि ६ जना गुलेली सहितका सिकारी राखिएको छ । बाँदर धपाउन  बन्दुकलगायत हतियार लिएका प्रहरी जवानहरु पनि खटाइएको उनले जानकारी दिए । ‘बाँदर बन्दुक तथा लठ्ठीबाट नडराउने भएकोले बन्दुक तथा गुलेली सहितको जवान खटाइएको हो,’ महाप्रवन्धक उपाध्यायले भने ।

उनका अनुसार हाल विमानस्थल वरपर रहने बाँदरलाई धपाउनमा लागि मात्र  ३ जना सिकारी खटाइएको छ । तर प्राविधिक रुपमा भने सो उपाय त्यति उपयोगी नभएको उनले बताए । त्यसले गर्दा अन्तरराष्ट्रिय क्षेत्रमा समेत प्रचलनमा आएको प्रविधि कार्यन्वयनमा ल्याउन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL